विष्णुप्रसाद र उमेशलाई उपाधि

काठमाडौं, (खेलाडी)- विष्णुप्रसाद बस्नेत र उमेश धितालले आइतबार कागेश्वरी मनोहरा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

मुलपानीको अमरसिंह चोकस्थित वडा ७ को कभर्डहलमा भएको फाइनलमा विष्णु र उमेशको जोडीले सुन्दर परियार र कविराज थापाको जोडीलाई २१-९ , २१-८ को सोझो सेटमा पराजित गरे ।

कागेश्वरी मनोहरा नगरपालिकाको आयोजना तथा कागेश्वरी मनाहोरा नगर खेलकुद विकास समितिको तत्वावधानमा भएको प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार रुपैयाँ, ६ हजार रुपैयाँ र एक हजार रुपैया हात पारे ।

विजेतालाई कागेशवरी मनोहराका मेयर कृष्णहरि थापा, वडा ७ का अध्यक्ष जीवन थापा, कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिका अध्यक्ष रामप्रसाद पुडासैनी, समाजसेवी राजाराम सिलवाललगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।

दुईदिने प्रतियोगितामा १३ जोडीले पुरुष डबल्समा स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

विजयादशमी तथा दीपावलीको अवसरमा आयोजित प्रतियोगिताको यो पहिलो संस्करण हो ।