काठमाडौं । म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा आइतबार घरेलु मैदानमै वेस्ट ह्याम युनाइटेडसँग २-० ले पराजित भएको छ ।
जितसँगै ३६ खेलमा ४० अंक जोडेको वेस्टह्याम १५औं स्थानमा उक्लिएको छ । हार बेहोरेको म्यानचेस्टर युनाइटेड समान खेलबाट ३९ अंकका साथ १६औं स्थानमा झरेको छ ।
ओल्ड ट्राफोर्डमा पाहुना टोली वेस्टह्यामलाई जित दिलाउन टोमास सौचेक र जारोड बोवेनले गोल गरे ।
खेलको २६औं मिनेटमा सौचेकको गोलमार्फत वेटह्यामले अग्रता लिएको थियो । उनले मोहम्मद कुडुसलेको क्रसलाई गोलमा परिणत गरे ।
बोवेनले ५७औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । आरोन वान बिसाकाले बायाँ साइटबाट गरेको क्रसलाई बोवेनले सहजै जाली चुमाए ।
लिगमा आइतबारै सम्पन्न अन्य खेलमा न्युक्यासल युनाइटेडले चेल्सी तथा किस्टल प्यालेसले टोटनहमविरुद्ध समान २-० को जित निकाल्दा नटिङघम फरेस्ट र लेस्टर सिटीले २-२ को बराबरी खेले ।