नेपाली खेलकुदको सबभन्दा ठूलो मेला वृहत राष्ट्रिय खेलकुदको नवौं संस्करण विर्सनलायक बनेर विदा भएको छ ।
नेपालीका दुई ठूला चाढ दशै र तिहारको बीचमा सुन्दर पर्यटकीय नगरी पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा भएको खेलकुदको त्यस्तै महा चाढले खेल जगतलाई कुनै पनि तवरबाट उर्जा र उत्साहको संचार गराउन सकेन ।
आम निर्वाचनको पूर्वसन्ध्यामा जसरी पनि गर्नैपर्ने सोचबाट प्रेरित खेल नेतृत्वले हतार–हतार झारो टराई पारामा गरेका कारण खेलकुदको महोत्सव कुनै कोणबाट पनि महोत्सवजस्तो देखिएन । नेतृत्वलाई जसरी पनि नवौं राष्ट्रिय खेलकुद सक्नु थियो । खेल्ने ठाउँ खेल्न लायक भएनभएकोमा नेतृत्वको कुनै चासो थिएन । खेलकुदका अन्तर्राष्ट्रिय रुपमै स्थापित मुल्य मान्यताको कुनै मतलब थिएन । खेल सकिइसक्दा समेत पदक समारोहमा पदक पुग्दैनथे ।
खेलाडीलाई उपलब्ध गराइएको खेल पोशाक उनीहरुलाई ठिक हुने थिएनन् । आधा खेलाडीले पनि नवौं राष्ट्रिय खेलकुदको चिनोको रुपमा त्यो पोशाक लगाउन पाएनन् । कतिपय खेलाडीको भत्तामा पदाधिकारीको गिद्धे नजर लाग्यो ।
खेलमा हुने विवादलाई ‘पार्ट अफ गेम’ भनेर सामान्यीकरण गर्न सकिएला । तर औपचारिक उद्घाटनको दिन आइसक्दा पनि सबै १० टोलीको दर्ता विवरण सार्वजनिक गर्न सक्ने राष्ट्रिय खेलकुद परिषदले गैह्र आवासीय नेपाली संघ (एनआरएनए)को दर्ता विवरण लुकाउनुको पछाडि विवादको जायज कारण देखिन्थ्यो । त्यही विवाद फुटबलको मैदानमा छताछुल्ल हुँदा ‘नेपाली खेलकुदलाई सहयोग गर्न आएको’ एनआरएनले बेइज्जती खप्नुपर्यो ।
जहाँ यो खेल महोत्सव गरिन्छ त्यहाँ यसकै बहानामा दीर्घकालसम्म काम लाग्ने केही खेलकुद पूर्वाधार बनाउने राष्ट्रिय खेलकुदले स्थापनाकालदेखि बोक्दै आएको प्रमूख उद्देश्य हो । यसपाली पोखरा र गण्डकी प्रदेशका लागि नवौं राष्ट्रिय खेलकुदले पूर्वाधारको नाममा केही पनि दिएन ।
प्रदेश र केन्द्रबीचको असमझदारीबाट उत्पन्न असहज परिस्थितीले राष्ट्रिय खेलकुदलाई सामान्य टोले प्रतियोगितामा रुपान्तरित गर्यो । स्थानीयलाई अपनत्व दिन कञ्जुस्याई गर्दा उपराष्ट्रपति उपस्थित उद्घाटन समारोहमा पोखरा रंगशालाका प्यारापिट खाली भए । रंगशालाको सय मिटर दुरीमा पनि राष्ट्रिय खेलकुदको कुनै चहलपहल भएन । सरकारले ६० करोड रुपैयाँ खर्च गरेको सम्पूर्ण नेपाली खेलकुदको सबभन्दा ठूलो महोत्सव रंगशाला परिसरभित्रै खुम्चियो ।
समग्रमा भन्नुपर्दा गएको असोज २८ बाट कात्तिक तीन गतेसम्म भएको नवौं राष्ट्रिय खेलकुद चरम अनियमितता, अत्यन्तै अव्यवस्थित र कर्मकाण्डी पारामा सम्पन्न भयो । नेपाली खेलकुद र खेलाडीको भावनामा खेलवाड भएको यो पहिलो पटक पक्कै पनि होइन । यसअघिका संस्करणमा पनि खेल क्षेत्रबाट यस्तै गुनासाहरु आएकै हुन् ।
|
तर, पोखरामा अघिल्ला संस्करणहरुको तुलनामा साच्चिकै भव्य तरिकाले राष्ट्रिय खेलकुद गर्न सकिन्थ्यो । विगतका सबै कमजोरीहरुलाई एकै पटक सच्याएर सर्वोत्कृष्ट तवरबाट गर्न सकिन्थ्यो । तर परिषदको नेतृत्वले त्यतातिर ध्यान दिएन । प्रत्येक कमजोरीमा नेतृत्वको एउटै उत्तर रहने गर्थ्यो, ‘यति ठूलो कार्यक्रममा सानातिना कमजोरी त भइहाल्छ नी । खेल नै रोकिनु भएन । उद्घाटन भएपछि समापन नभइकन स्थगित हुनुभएन । उद्घाटन र समापन भएपछि समग्रमा खेल सफल भएको ठान्नुपर्छ ।’
परिषद नेतृत्वको यो भनाईले खेलकुदलाई हेर्ने उनीहरुको दृष्टिकोण देखाउँछ । यही कारण हो, पोखरामा अहिलेसम्मकै उत्कृष्ट बनाउने सम्भावना भएर पनि नवौं राष्ट्रिय खेलकुद अहिलेसम्मकै कमजोर पारामा सम्पन्न भयो ।
पोखरामा भौतिक पूर्वाधारको कमी थिएन । खाली पौडी पोखरी र सुटिङ रेन्ज बनाएको भए पुग्थ्यो । त्यो बनाइएन । खेलकुदलाई असाध्यै माया र सहयोग गर्ने पोखरेलीलाई इशारामात्र गरेको भए उनीहरु आफैले नवौं राष्ट्रिय खेलकुद भव्य पारिदिन्थे । तर, खेल नेतृत्वले वृहत राष्ट्रिय खेलकुद महोत्सवलाई कुनै एउटा प्राइभेट लिमिटेडको गोप्य प्रोजेक्टका रुपमा सञ्चालन गर्ने चाहना राख्यो ।
यसको असफलता त्यसैको कारण हो । आम खेलकर्मीले असफलको ट्याग भिराए पनि खेल नेतृत्व यो मान्न तयार छैन । सरकार यो मान्न तयार छैन । स्वभाविक हो, उनीहरुका लागि यो राष्ट्रिय खेलकुद सफल भएकै हो । उनीहरुले चाहेकै तवरमा यो सम्पन्न भइसकेको छ । खेलाडी र खेलकर्मीसँग उनीहरुको सोच्ने तरिका मिल्नुपर्छ भन्ने छैन । मिल्दैन ।
खेलकुद मन्त्री, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव र उपाध्यक्षमात्र होइन प्रधानमन्त्री र उपराष्ट्रपतिले पनि समग्र खेलाडी र खेलकर्मीको नजरमा अस्तव्यस्त रहेको नवौं वृहत राष्ट्रिय खेलकुद भव्य रुपमा सम्पन्न भएको आधारहिन दाबी गरे । तथ्यहिन झुठा भाषण गर्ने बानी लागेकाहरुले नवौं वृहत राष्ट्रिय खेलकुदकै कारण पोखरामा थुप्रै भौतिक पूर्वाधार बनेको पनि बताए ।
खैर, नेताको भाषणलाई सामान्य जनताले पनि वास्था गर्न छोडिसकेका बेला खेलाडी र खेलकर्मीले गम्भीरताका साथ लिने कुरा थिएन । लिएनन् ।
राखेप अहिल्यै १०औं संस्करणको आयोजक पनि घोषणा गरिसकेको छ । कर्णालीले पहिलो पटक दुई वर्षपछि राष्ट्रिय खेलकुदका लागि १० हजार हाराहारीमा खेलाडी र खेलकर्मीलाई आतिथ्य दिनेछ । प्रधानमन्त्री र मन्त्रीदेखि खेलकुदका सबै ठेकेदारले आ-आफ्ना भाषणमा नवौंमा भएका कमजोरी १०औंमा सच्याउने अर्को झुठो आश्वासन दिएका छन् ।
प्रत्येक संस्करणको समापनमा यसो भन्ने अनि अर्को संस्करणलाई झनै अव्यवस्थित र भद्रगोल पारामा गर्ने गरेको देखेका खेलकर्मीले नेताका भाषणमा विश्वास गर्न छोडेको धेरै भइसक्यो । अत्यन्तै भव्य रुपमा हुन सक्ने ठाउँबाट समेत निराश भएर फर्किएका खेलकर्मीले कसरी पत्याउनु ?
|
खेलस्थल, यातायात र बसोबासका लागि काठमाडौंपछि देशकै सबभन्दा बढि सुविधा भएको ठाउँमा नगर्नेले एउटै रंगशालासमेत नभएको कर्णालीमा योभन्दा व्यवस्थित राष्ट्रिय खेलकुद सम्भव छैन । सबथोक भएको पोखरामा मैदान सम्याउन दशै र बेमौसमी वर्षाका कारण भ्याइएन भनेर कुतर्क गर्नेले दुई वर्षभित्रमा कर्णालीमा रंगशाला बनाउला भनेर पत्याउन सकिन्न ।
एउटा रंगशालाले मात्र पनि राष्ट्रिय खेलकुद सम्पन्न हुँदैन । प्रत्येक संस्करणमा राजनीतिक प्रभाव र पहुँचका भरमा खेल संख्या थप्ने प्रचलन छ । यही अनुसार यसपाली ३६ खेल भएकोमा अर्को पाली झनै संख्या थपिएला । प्रत्येक खेल गराउन त्यही खेलका लागि विशेष खालको पूर्वाधार चाहिन्छ । जुन कर्णालीमा छैन । १०औं हजार पाहुनालाई थेग्ने होटल चाहिन्छ, त्यसको व्यवस्था कम जटिल छैन । यातायात पूर्वाधारको विषय त अर्को टाउको दुखाई हो ।
पूर्वाधार छैन भनेर कर्णालीमा खेल नलग्ने भन्न खोजिएको होइन । तर त्यसका लागि लामो समयदेखि तयारी हुनुपर्छ । स्थानीय, प्रदेश र संघीय सरकारले भाषणमात्र होइन, त्यस्तै प्रतिबद्धताका साथ काम गर्नुपर्छ । कतारले विश्वकपको आयोजनाका लागि पछिल्लो १२ वर्षदेखि गरेको तयारीजस्तै हुनुपर्छ । कर्णालीलाई तत्काल आयोजना अधिकार दिनुभन्दा तीन संस्करणपछिको राष्ट्रिय खेलकुद आयोजनाका लागि आजैबाट युद्धस्तरमा पूर्वाधार निर्माणको अभियान थालिनुपर्थ्यो ।
|
कतारजस्तो धनी मुलुकले विश्वकपका लागि आठवटा रंगशाला बनाउन १२ वर्ष खर्चेको छ । तर राजधानीभित्र आठ किलोमिटर बाटोको स्तरोन्नति गर्न १० वर्षमा पनि नसक्ने सरकारले विकट कर्णालीमा दुई वर्षभित्र राष्ट्रिय खेलकुदलाई आवश्यक पूर्वाधार बनाउँछु र अहिलेसम्मका कमजोरी सच्चिने गरि आयोजना गर्छु भन्दा कसरी पत्याउनु ?
ओलम्पिक, एसियाली खेलकुद र विश्वकप जस्ता ठूला खेल महोत्सव आयोजनाका लागि देश वा सहर विशेषले दाबी गर्छन । सफलतापूर्वक आयोजना गर्न सक्ने आधार प्रस्तुत गर्छन । अनि दाबेदारहरुका प्रस्ताब र हैसियतमाथि विश्लेषण गरेर उत्कृष्टलाई आयोजनाको अवसर दिइन्छ । यही कारण हो एसियाले भर्खर दोस्रो पटक विश्वकप आयोजना गर्न लागेको । अफ्रिका र ओसियाना महादेशले त अहिलेसम्म आयोजनाको अवसर पाएका समेत छैनन् ।
हाम्रो राष्ट्रिय खेलकुदको उद्देश्य फरक छ । हामीकहाँ राष्ट्रिय खेलकुदलाई विभिन्न क्षेत्रमा पालैपालो आयोजना गरेर यसका लागि भौतिक पूर्वाधार बनाउने र पूरा देशलाई एउटा समयमा पूर्वाधार सम्पन्न बनाउने उद्देश्य राखिएको थियो । तर, त्यो उद्देश्यबाट राखेप, सरकार र राष्ट्रिय खेलकुद च्यूत भइसकेको छ ।
पूर्वाधारका नाममा केही थान कभर्डहल नाम गरेका पाटीबाहेक केही नभएको कर्णालीले राष्ट्रिय खेलकुदको झण्डा बोकिसकेको छ । त्यसैले यो अब कर्णालीकोमात्र नभएर सबै प्रदेश, विभागीय टोली र एनआरएनको समेत चासोको विषय हो । यसलाई सफल पार्नुको विकल्प छैन ।
सफल पार्ने चाँही कसरी त ? कुरा चाँही तिनै जाली नेताहरुले भाषणमा भनेजस्तै हो, ‘नवौंसम्मका कमजोरी सच्याएर’ । आयोजनाका पक्षमा दुई वर्षपछि सच्याउने छुट छ । तर, दुई वर्षमै गर्ने अनुसाशनको पालनाका लागि पनि अहिल्यैदेखि गर्नुपर्ने काम भनेको पूर्वाधार निर्माणको कामलाई तिब्रता दिने हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा स्वयमले गरेको भाषण हो, ‘विगतका कमजोरी सच्याउने’ । त्यसैले संघीय सरकारले नै विशेष चासो र प्रतिबद्धताका साथ काम गरेर स्थानीय र प्रदेश सरकारलाई झकझक्याउने काम गर्नुपर्छ । कर्णालीमा खेल्ने ठाउमात्र बनाएर पुग्दैन । पछि अरु कामका लागि प्रयोग गर्न सकिने गरि खेलाडी भिलेज पनि बनाउनुपर्छ । अन्यथा बसोबासको अकल्पनीय समस्या आइलाग्नेछ ।
त्यसैले दशै-तिहार, हिउँद-वर्षा, दिन-रात केही नभनी आजैदेखि तीन सिफ्ट काम गरेमा चाँही कर्णालीमा दुई वर्षपछि नै कामचलाउ राष्ट्रिय खेलकुद आयोजना हुन सक्छ । नत्र, फेरि पनि पूर्वाधारको बहानामा वर्षौसम्म नेपाली खेलकुद बन्धक बनिरहनेछ । अनि राजनीतिक सहानुभूतिका लागि कर्णालीलाई आयोजना अधिकार दिनेलाई खेलकर्मीले धारेहात लगाइरहनेछन् ।