काठमाडौं । नेपाली राष्ट्रिय यु-२० टोलीका स्ट्राइकरद्धय पूर्णिमा राई र मीना देउवा पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका छन् ।
मुख्य प्रशिक्षक नवीन न्यौपानेले शुक्रबार सावित्रा भण्डारीको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा पूर्णिमा र मीना पहिलो पटक अटाएका हुन् ।
नेपालले यही कार्तिक ७ मा इरान र कार्तिक १० मा भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । भारतको शिलोङमा हुने यी दुई खेलका लागि तयार पारिएको राष्ट्रिय टोलीमा तीन पुराना अनुहार बहिरिएका छन् । फरवार्ड अनिता केसी, रक्षक अमृता जैशी र अट्याकिङ मिडफिल्डर विमला चौधरी टोलीमा अटाएनन् ।

पूर्णिमा र मीनाले तीन महिनाअघि बंगलादेशको ढाकामा सम्पन्न साफ यु–२० च्याम्पियनसिपमा नेपालको जर्सी लगाएका थिए । नेपाल उपविजेता बनेको प्रतियोगितामा पूर्णिमा १० गोलसहित उच्च गोलकर्ता बनेकी थिइन् । त्यस्तै मीनाले सात गोल गरेकी थिइन् । बंगलादेशपछि यी दुईले भुटानमा सम्पन्न एएफसी छनोट खेलेका थिए ।
त्यस्तै मिडफिल्डर दीपा शाही, रक्षकद्धय हिराकुमारी भुजेल र सजनी थोकरले पुनरागमन जनाएका थिए । यी सबै गत वर्ष काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपयता टोलीमा परेका थिएनन् । साफ च्याम्पियनसिपका दौरान दीपा र हिराले एसिएल (एन्टेरियर क्रुसिएट लिगामेन्ट, घुँडामा लाग्ने एकप्रकारको गम्भीर चोट)को सामना गरेका थिए । जसका कारण उनीहरु एक वर्षयता मैदान बाहिर थिए ।