आश्विन १६, २०८२ शुक्रबार | ०४:१७:५८
नेपाल पहिलो खेलमै मलेसियासँग पराजित मलेसियाले दियो नेपाललाई १०५ रनको लक्ष्य कल्किन श्रेष्ठले बनाए ८०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान दीपेन्द्र आइएल ट्वान्टी-२० को अक्सनमा ‘अनसोल्ड’ अञ्जिलाले पुनः सेथुबाट खेल्ने इन्टर मियामी सिकागो फायरसँग पराजित गालातासारेले लिभरपुललाई हरायो बायर्न लगातार दोस्रो खेलमा विजयी रियालको एकतर्फी जितमा एमबाप्पेको ह्याट्रिक नेपाल अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित नेपाल पहिलो खेलमै मलेसियासँग पराजित मलेसियाले दियो नेपाललाई १०५ रनको लक्ष्य कल्किन श्रेष्ठले बनाए ८०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान दीपेन्द्र आइएल ट्वान्टी-२० को अक्सनमा ‘अनसोल्ड’ अञ्जिलाले पुनः सेथुबाट खेल्ने इन्टर मियामी सिकागो फायरसँग पराजित गालातासारेले लिभरपुललाई हरायो बायर्न लगातार दोस्रो खेलमा विजयी रियालको एकतर्फी जितमा एमबाप्पेको ह्याट्रिक नेपाल अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित
शनिबारको दिन

विभागीय मन्त्रीको पर्खाईमा जेनजी पुस्ता

काठमाडौं । जेनजी आन्दोलनले विद्रोहको रूप लिएपछि बदलिएको राजनीतिक परिस्थितिले देशमा सरकारमात्र फेरिएको छैन । मानिसहरूको सोच्ने तरिकामा पनि परिवर्तन आएको छ ।

भ्रष्टाचार, वेथिति, विसंगति, कुशासन र आम नागरिकमाथि राज्यबाटै हुने अन्यायविरुद्धमा आह्वान गरिएको आन्दोलन दौरान देखिएका लुटपाट र अराजक गतिविधिबाट एकाथरी मानिसमा चरम निराशा उत्पन्न भएको छ । ठूला नेताहरू भ्रष्ट भए भनेर आन्दोलन गर्ने क्रममा आफूले चाहिँ मौका पाउँदा एउटा स्याउको दाना पनि नछोड्ने प्रवृत्ति आम नागरिकमा देखिनु साँच्चै निराशाजनक नै थियो ।

भ्रष्टाचार नेतृत्व तहमा मात्र होइन, मौका पाउँदा कसैले पनि छोड्दैन भन्ने भाष्य स्थापित भयो । नेताका घरमा आक्रमण हुँदा सेफ फुटाएर पैसा चोर्नेदेखि भाटभटेनी सुपर स्टोरबाट रक्सीका बोतलदेखि स्याउसम्म नछोड्ने आन्दोलनकारीको व्यवहारले त्यही भनिरहेको थियो । नेतृत्व भ्रष्टाचारमा लिप्त छ भनिरहँदा नेपालमा भ्रष्टाचार ग्रासरूटमै छ भन्ने प्रमाणित भइरहेको थियो ।

आदर्श नेतृत्वका रूपमा स्थापित हुन खोजिरहेको र जान्नेलाई छान्ने दलका मुख्य नेता रवि लामिछाने र उनका अनुयायीले पनि जेल तोडेर भाग्ने अवसरका रूपमा आन्दोलनलाई लिँदा वैकल्पिक राजनीतिमाथिको विश्वास पनि एकाएक गर्लम्म भयो । रविलाई अरू १५ हजार हाराहारीका कैदीले पछ्याउँदा देशभरका जेल खाली भए । अनि विभिन्न देशबाट नेपालीलाई भिसा नदिने घोषणाको लर्को सुरु भयो । एउटा गम्भीर र चिन्तनशील मानिसलाई उदास बनाउन यस्ता घटनाहरू पर्याप्त थिए ।

तर, जेनजी आन्दोलनको प्रभावलाई यत्तिमै मात्र सीमित गर्न मिल्दैन । यो त आन्दोलनको एउटा पाटो मात्र हो । आन्दोलन भनेको भिड हो । भिड कसैको नियन्त्रणमा हुँदैन । भिडले जे पनि गर्न सक्छ । विगतमा नेपालमै भएका र विश्वका अन्य आन्दोलनहरूलाई पनि नियाल्दा भिड अनियन्त्रित नै देखिन्छ । भिड अराजक नै देखिन्छ । यसकारण जेनजी आन्दोलनलाई पनि यसको सुरुआती भावना र प्राप्त उपलब्धिका आधारमा सकारात्मक नजरले हेर्नुपर्छ ।

ठूलो रक्तपातपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित सरकारका अन्य मन्त्रीहरू पनि गैरराजनीतिक व्यक्तिहरू नै छन् । 

जेनजी आन्दोलनको भावना भ्रष्टाचार निवारण, सुशासन र न्यायपूर्ण राज्यको स्थापना थियो । यही भावनाका साथ सुरु भएको आन्दोलनले यथास्थितिवादी पुरातन राजनीतिक नेतृत्वलाई पूर्ण रूपमा विस्थापित गरेर नयाँ नागरिक सरकार स्थापना गर्न सक्नु यसको उपलब्धि हो । ६ महिनाभित्र आम निर्वाचन गराउने, देशमा सुशासन स्थापना गर्ने, आम नागरिक साँच्चिकै न्यायबाट वञ्चित हुनुपर्ने अवस्थाबाट मुक्ति दिलाउने, आन्दोलनमा राज्य पक्षबाट भएको दमन तथा आन्दोलनकारी र घुसपैठ गर्नेहरूबाट भएका अराजक गतिविधिको छानबिन गरी कारबाही गर्ने म्यान्डेटका साथ नयाँ सरकार बनेको छ ।

एनओसी मुख्यालय ।

ठूलो रक्तपातपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित सरकारका अन्य मन्त्रीहरू पनि गैरराजनीतिक व्यक्तिहरू नै छन् । राजनीति बेइमान भयो भनेर त्यसलाई ठिक गर्न बनेको सरकार भएकाले कम्तीमा ६ महिनाको आयु लिएर आएको सरकार इमान्दार र आफ्नो म्यान्डेटमाथि प्रतिबद्ध हुने विश्वास गर्न सकिन्छ । भ्रष्टाचार निवारण, सुशासन र न्याय स्थापनाको आशा यो सरकारबाट स्वाभाविक विषय हो ।

पक्कै पनि नयाँ परिवर्तनबाट राज्यका सबै अंग र क्षेत्रहरू आशावादी छन् । किनकि भ्रष्टाचार र कुशासनबाट सबै क्षेत्र आक्रान्त थिए । अब नयाँ सरकार स्थापनासँगै प्रत्याभूति हुने गरी सुशासनको आरम्भ थालिँदा अन्य क्षेत्रजस्तै खेलकुदले पनि आशा गर्नु अस्वाभाविक होइन । जेनजी भनेको १३ देखि २८ वर्ष उमेर समूहको पुस्ता हो । यो भनेको खेलकुदमा आफै प्रत्यक्ष रूपमा संलग्न हुने उमेर समूह हो । आफै नखेले पनि खेलकुदलाई निकै लगावसाथ पछ्याउने उमेर समूह हो ।

यही उमेर समूहको अभियान वा यिनको आवरणमा कसैले चलाएको योजनाबाट भएको परिवर्तन भएकाले यसमा सबैभन्दा बढी अधिकार यही पुस्ताको रहन्छ । यस अर्थमा भ्रष्टाचार, कुशासन, बेथिति–विसंगति र अधिनायकवादी चरित्रमा राजनीतिभन्दा धेरै माथि रहेको खेलकुदमा परिवर्तनको सकारात्मक हस्तक्षेप पनि अन्य क्षेत्रको तुलनामा बढी आवश्यक छ ।

खेलकुदमा कुशासन र भ्रष्टाचारका कारण सिर्जित समस्या यति धेरै छन कि तिनको चर्चा एउटा लेखबाट सम्भव हुँदैन । सयौं पृष्ठको पुस्तक नै पनि त्यसलाई अपर्याप्त हुन सक्छ । प्रत्येक दुई वर्षमा हुनुपर्ने बृहत राष्ट्रिय खेलकुदले कहिल्यै नियमितता पाउन सकेको छैन । त्यसलाई समयको अनुशासनमा ल्याउनु छ । दुई दशकभन्दा लामो समयदेखि चलेको ओलम्पिक कमिटी विवादले नेपाली खेलकुदलाई फस्टाउनबाट रोकिरहेको छ । त्यसमा पनि स्थायी र दीर्घकालीन समाधान खोज्नु छ ।

फुटबलमा मेरुदण्डको रूपमा लिइने लिग हुन सकिरहेको छैन । राष्ट्रिय टिमले आफ्ना घरेलु खेलसमेत विपक्षीको मैदानमा गएर खेल्नु परिरहेको छ । विश्वमै आफ्नो मैदान नहुने एकमात्र देशका रूपमा नेपालको बदनाम भइरहेको छ । कुशासन र भ्रष्टाचार व्याप्त छ । यी सबलाई व्यवस्थित गर्नु छ । क्रिकेट भित्रका कानुनी विवादलाई समाधान गर्नु छ ।

मन्त्रिमण्डल सदस्यको संख्या ११ भन्दा बढी नहुने अपेक्षा गरिएको बेला ८ मन्त्री नियुक्त भइसक्दा पनि खेलकुदमा छुट्टै मन्त्रालय घोषणा भइसकेको छैन । 

पदाधिकारीको झोलामा सीमित संघहरूलाई साँच्चिकै खेल, खेलाडी र राष्ट्रको अधीनमा ल्याउनु छ । सीमित पदाधिकारीको स्वार्थको घेराभित्र साँघुरिँदा नेपाली खेलकुद अकल्पनीय अधिनायकवादको सिकार भइरहेको छ । त्यसलाई पारदर्शी र लोकतान्त्रिक बनाउनुपर्नेछ । देशभित्र भविष्य सुनिश्चित नदेखेर राज्यले लामो समयसम्म लगानी गरेका राष्ट्रिय स्तरका सयौं खेलाडी विदेसिने क्रम प्रत्येक दिन बढ्दो छ । नेपालमै सम्भावना देखाएर यो क्रम तुरुन्त रोक्नु छ । जनसंख्याको ठूलो र गतिशील हिस्सा ओगट्ने युवाका सरोकारलाई सम्बोधन गर्नु छ । यसकारण जेनजी आन्दोलनको जगमा बनेको सरकारले खेलकुदलाई सबैभन्दा पहिलो प्राथमिकतामा राख्नैपर्छ ।

निवर्तमान युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी । 

प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा गरेको सम्बोधनको सारमा जाने हो भने उनी स्वयंले धेरै आशावादी नहुन आह्वान गरिसकेकी छन् । भ्रष्टाचार निवारण र सुशासनमा प्रतिबद्ध प्रयास गर्ने उनको भनाइबाट सरकारको ध्यान ६ महिनाभित्र चुनाव गराएर विदा हुने सोचमै केन्द्रितजस्तो देखिन्छ । यसबीचमा केही लोकप्रिय निर्णय गरेर जेन–जी आन्दोलनलाई सम्बोधन गरेको देखाउने योजनामा सरकार रहेको उसका क्रियाकलापले देखाइसकेको छ ।

मन्त्रिमण्डल सदस्यको संख्या ११ भन्दा बढी नहुने अपेक्षा गरिएको बेला ८ मन्त्री नियुक्त भइसक्दा पनि खेलकुदमा छुट्टै मन्त्रालय घोषणा भइसकेको छैन । सामाजिक सञ्जालकै चर्चा नै आधार मान्ने हो भने खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना निकै न्यून छ । कुनै अर्को मन्त्रालयलाई नै खेलकुद पनि हेर्ने गरी जिम्मेवारी दिइने आफूलाई सरकार निकट बताउने एकथरी स्रोतको अनुमान छ । त्यस्तै अर्काथरी भने जेन–जीको सबैभन्दा बढी प्रत्यक्ष चासो रहने भएकाले त्यो उमेर समूहको भावना सम्बोधनका लागि पनि खेलकुदलाई वर्तमान सरकारले विशेष महत्वका साथ लिएको दाबी गर्छन् ।

उनीहरूका अनुसार मन्त्रिमण्डल विस्तार हुँदा खेलकुदले छुट्टै मन्त्रालय पाउनेछ । छुट्टै मन्त्रालय नै व्यवस्था नगर्ने हो भने खेलकुदमा सुशासनको प्रयास फिक्का हुन सक्नेमा प्रधानमन्त्री, मन्त्रिमण्डलका अन्य सदस्यहरू तथा सरकार गठनमै प्रभाव राख्ने अभियन्तासमेत सचेत रहेको उनीहरूको बुझाइ छ । पक्कै पनि खेलकुदलाई नै केन्द्रमा राखेर काम गर्ने छुट्टै मन्त्रालय र मन्त्री नभए परिवर्तनको अनुभूति कम्तीमा यो क्षेत्रले गर्न पाउने सम्भावना न्युन रहन्छ । तथापि सरकारले सुशासन र भ्रष्टाचार विरुद्धमा खुट्टा टेक्ने प्रतिबद्धता जनाइसकेको छ ।

सरकारले आम नागरिकलाई त्यसको अनुभूति गराउने हो भने सबैभन्दा पहिला युवा वर्गको प्रत्यक्ष चासोमाथि सम्बोधन गर्नुपर्छ । जसबाट देशले सही बाटो समाएको सन्देश प्रवाहमा सबैभन्दा गतिसिल उमेर समूह आफै लाग्नेछ । त्यो भनेको खेलकुदमा सुशासन स्थापनाबाट मात्र सम्भव हुन्छ । यस कारण सरकारले खेलकुदमा पनि सुशासनको प्रत्याभूति गराउन यहाँभित्रको भ्रष्टाचार, बेथिति र विसंगति अन्त्य गर्न आफू प्रतिबद्ध रहेको सन्देश दिनु जरुरी छ । त्यसको पहिलो पाइला भनेको सरकार विस्तारको क्रममा खेलकुद समेट्नु हो ।