ओलम्पिक आयोजननालाई लिएर बाचको तनाब

टोकियो, (खेलाडी)- अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अध्यक्ष थोमस बाचले कोभिड १९ महामारीका कारण टोकियो ओलम्पिक २०२० एक वर्षका लागि स्थगित हुँदा आफूले अत्यन्तै तनाब बेहोरेको बताएका छन् । 

महामारीका कारण एक वर्ष पछि धकेलिएको विश्व खेलकुदको सबभन्दा ठूलो खेल मेला अन्तत शुक्रबार औपचारिक रुपमा सुरु हुँदैछ । तथापि महामारीमाथि नियन्त्रण कायम गर्न असफल भइरहेका बेला ओलम्पिक गर्न लागेको भन्दै जापानी नागरिकहरुले यसको व्यापक आलोचना गरिरहेका छन् । 

जापानी आम नागरिकको विरोधका बावजुद जापानी सरकारसँगको सहकार्यमा आइओसीले ओलम्पिक आयोजना गर्न लागेको हो । विश्वयुद्धको समयवाहेक कहिल्यै नरोकिएको विश्व खेलकुदको सबभन्दा ठूलो मेला कोभिडका कारण रोकिएर हुने विषयमा दुविधा बढेपछि आफूले धेरै रात अनिद्रामा विताएको बाचले खुलासा गरे । 

मंगलबार टोकियोमा आइओसीको बैठकलाई सम्बोधन गर्दै बाचले ओलम्पिक एक वर्ष पछि धकेलिँदा आफूमा दबाब बढेको र अहिले सो दबाब झन् तीव्र बनेको बताए ।

ओलम्पिकका लागि टोकियो पुगेका केही देशका केही खेलाडीमा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ । टोकियोमा लगाइएको स्वास्थ्य संकटकाल अहिले पनि पूर्ण रूपमा हटिसेकेको छैन र त्यहाँका स्थानीयले समेत बारम्बार प्रतियोगिताको आयोजनाले कोभिड संक्रमण दर बढ्ने भन्दै विरोध गर्दै आएका छन् । त्यसैले शुक्रबार बिनादर्शक हुने टोकियो ओलम्पिक २०२० को उद्घाटन सोचेजस्तो सहज भने हुने छैन ।

‘विगत १५ महिना, हामीले टोकियो ओलम्पिक २०२० को आयोजनालाई लिएर धेरै निर्णय लिनुप¥यो । हामी सधै दुबिधामा हुन्थ्यौँ । हामीले धेरै छलफल गर्‌यौं । कयौ‍ यस्ता रात थिए जहाँ, हामी निदाउन सकेनौँ,’ बाचले भने, ‘ममाथि पनि एउटा दबाब सिर्जना भयो । तर पनि हामी ओलम्पिक आयोजनाको लक्ष्यबाट अलग हुन सकेनौँ । हामीमा प्रतियोगिता कुनै पनि हालतमा आयोजना गर्छौं भन्ने दृढ संकल्प थियो । त्यसैको परिणामस्वरूप हामी आज यो घडीमा आइपुगेका छौ‍ । हामीले महामारीको चुनौतीसँग जुध्दै यहाँ धेरै विकल्पका बाटा पैल्याएका छौं ।’

बाचको जापान आगमन भने सुखद रहेन । उनको आगमनसँगै केही जापानी नागरिकले उनीविरुद्ध नारा लगाएका थिए । हालैका दिनमा जापानमा टोकियो ओलम्पिक २०२० को आयोजनालाई लिएर गरिएको सर्वेक्षणमा ५५ प्रतिशतले विपक्षमा मत जाहेर गरेका थिए ।  

टोकियो ओलम्पिकका सहभागी हुने खेलाडीमध्ये ८० प्रतिशतले कोभिड १९ विरुद्धको खोप लगाइसकेकाले प्रतियोगिताको आयोजनाबारे आफूहरू ढुक्क भएको आइओसी र जापानी अधिकारीहरूले दाबी गर्दै आएका छन् । ओलम्पिक भिलेजमा समेत खेलाडी तथा पदाधिकारीको दैनिक पिसिआर परीक्षण भइरहेको छ ।