नयाँ खेलकुदमन्त्री लाई खेलाडी संघको स्वागत

काठमाडौं, (खेलाडी)- नेपाल राष्ट्रिय तथा अन्तर्राष्‍ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले नवनियुक्त युवा तथा खेलकुदमन्त्री एकबाल मियाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । 

एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्‍ठले आइतबार एक विज्ञप्ती जारी गर्दै कोभिड १९ महामारीका कारण नेपाली खेलकुद त्रास र भविश्यप्रति अन्योलको अवस्थामा रहेको उल्लेख गर्दै त्यसबाट निकाल्न नवनियुक्त मन्त्री मियाँलाई आह्‍वान गरेका छन् । 

‘पछिल्लो समय नेपालमा अत्यन्तै भयावह रुपमा फैलिइरहेको कोभिड १९ को महामारीका कारण सम्पूर्ण देशसँगै नेपाली खेल क्षेत्र पनि नराम्ररी प्रभावित भइरहेको छ । खेलकुदका गतिविधिहरु पूर्ण रुपमा जस्तै गरि ठप्प छन्,’ विज्ञप्तीमा भनिएको छ, ‘यो प्राणघातक महामारीका कारण समग्रमा खेलक्षेत्र भविश्यप्रतिको अन्योल वातावरणबाट गुज्रिइरहेको छ । सम्पूर्ण खेल क्षेत्र महामारीको त्रास र अन्योलपूर्ण भविश्यको चिन्ताको अवस्थामा रहँदा मन्त्रीको रुपमा युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व गर्ने जिम्मेवारी प्राप्त गर्नुभएकोमा माननीय मन्त्रीज्यूलाई बधाई दिन चाहन्छौं । सम्पूर्ण नेपाली खेलाडी र खेलकुदको विकास र विस्तारमा यहाँको कार्यकाल सफल होस भन्‍ने शुभकामना पनि व्यक्त गर्न चाहन्छौं ।’

फुटबल टोलीलाई बधाई 

एनएनआइपिएले विश्‍वकप तथा एसियन कपको छनोटका लागि कुवेतमा रहेको नेपाली राष्‍ट्रिय फुटबल टिमले चाइनिज ताइपेईमाथि जित हासिल गरेकोमा बधाई दिँदै बाँकी खेलमा पनि सफलताको शुभकामना दिएको छ ।

‘नेपाली राष्‍ट्रिय फुटबल टोली विश्‍वकप तथा एसियन कपको छनोटका लागि कुवेतमा छ । कुवेतमा नेपालले चाइनिज ताइपेईविरुद्धको खेलमा २-० को जित हासिल गरेर कठिन समयमा नेपाली समर्थकहरुलाई ठूलो खुसी दिएको छ । संघ राष्‍ट्रिय फुटबल टोलीलाई चाइनिज ताइपेईमाथिको जितका लागि बधाई तथा आगामी खेलहरुका लागि शुभकामना दिन चाहन्छ,’ श्रेष्‍ठद्धारा जारी विज्ञप्तीमा भनिएको छ । 

यसैगरी जापानमा हुने तयारीमा रहेको टोकियो ओलम्पिक र यसै वर्ष हुने तालिका रहेको नवौं वृहत राष्‍ट्रिय खेलकुदलाई मुख्य प्राथमिकतामा राखेर अगाडि बढाउन खेलाडी संघले नवनियुक्त मन्त्री मियाँसमक्ष आह्‍वान गरेको छ ।

कोभिडका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्‍जली

महामारीका कारण ज्यान गुमाएका खेलकर्मीहरुप्रति श्रद्धाञ्‍जली अर्पण गर्दै संघले संक्रमितहरुको स्वास्थ्यलाभको कामना गरेको छ ।

‘कोभिड १९ का कारण खेलक्षेत्रले थुप्रै खेलाडी तथा खेलकर्मीहरुलाई गुमाइसकेको अवस्था छ । संघ कोभिड महामारीको चपेटामा परी अनन्तलोकको यात्रामा लाग्‍नुभएका सम्पूर्ण खेलकर्मी तथा नेपाली नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्‍जली अर्पण गर्दै परिवारजनमा धैर्य धारणको शक्ति मिलोस भन्‍ने कामना गर्न चाहन्छ । यसैगरी यस महामारीबाट संक्रमित भई उपचारार्थ तथा आइसोलेसनमा रहनुभएका सम्पूर्णको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछ,’ विज्ञप्तीमा भनिएको छ । 

खेलकुदको विकासका लागि गरिने हरेक काममा संघको पूर्ण सहयोग हुने प्रतिबद्धता पनि विज्ञप्तीमार्फत जनाइएको छ ।