काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ५५-० को एकतर्फी जित निकाल्दै गोर्खाली रग्बी क्लबले लगातार दोस्रो पटक राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिपको उपाधि जितेको छ ।
च्यासल रंगशालामा मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा गोर्खाली सुरुआतदेखि नै आक्रमक बनेको थियो ।
पहिलो हाफमा ४० अंकको अग्रता लिएको गोर्खालीले दोस्रो हाफमा १५ अंक थप्यो । गाेर्खालीले तीन खेलमा ९ अंक जोड्यो ।
अपराजित रहँदै च्याम्पियन बनेको गोर्खालीले यसअघि एपिएफलाई १४-१२ र आर्मीलाई ३०-१० ले पराजित गरेको थियो ।
यता पुलिस भने प्रतियोगितामा जितविहिन रह्यो । यसअघि पुलिसले आर्मीसँग ४९-३ तथा एपिएफसँग ७८-० को हार बेहोरेको थियो ।
मंगलबारै हुने अर्को खेलमा दुई विभागीय टोली आर्मी र एपिएफ प्रतिस्पर्धा गर्नेछन् । यो खेलको विजेताले दोस्रो स्थानमा रहँदै प्रतियोगिता सक्काउने छ ।
उपाधिसँगै गोर्खालीले २ लाख २२ हजार २२२ रुपैयाँसहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।