काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबविरुद्ध १९-७ को पुनरागमन जित निकाल्दै आर्मी राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिपको उपविजेता बनेको छ ।
च्यासल रंगशालामा मंगलबार सम्पन्न अन्तिम खेलकाे पहिलो हाफमा आर्मी ७-५ ले पछि परेको थियो । तर दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको आर्मीले १४ अंक थप्दा एपिएफ भने सात अंकमै सिमित बन्यो ।
जितसँगै तीन खेलमा ६ अंक जोडेको आर्मी दोस्रो स्थानमा रह्यो । हार बेहाेरेकाे गत संस्करणको उपविजेता एपिएफ समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा रह्यो ।
यसअघि नेपाल पुलिस क्लबलाई ४९-३ ले पराजित गरेको आर्मी गोर्खाली रग्बी क्लबसँग ३०-१० को हार बेहोरेको थियो । एपिएफ पनि गोर्खालीसँग १४-१२ ले पराजित हुँदा पुलिसलाई ७८-० ले हराएको थियो ।
मंगलबारै सम्पन्न पहिलो खेलमा पुलिस क्लबविरुद्ध ५५-० को एकतर्फी जित निकाल्दै गोर्खाली रग्बी क्लब लगातार दोस्रो पटक च्याम्पियन बनेको थियो । पहिलो हाफमा ४० अंकको अग्रता लिएको गोर्खालीले दोस्रो हाफमा १५ अंक थप्यो ।
प्रतियोगिताको विजेता गोर्खालीले २ लाख २२ हजार २२२ रुपैयाँसहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता आर्मीले १ लाख ११ हजार १११ रुपैयाँ मेडल र प्रमाण पत्र हात पारेकाे छ ।
नेपाल रग्बी संघको आयोजनमा सम्पन्न प्रतियोगितामा यी चार टोलीले राउन्ड राेबिन पद्धतिका आधारमा प्रतिस्पर्धा गरेका थिए ।