चार खेलाडीलाई कोषको उपचार खर्च

काठमाडौं, (खेलाडी)- उपचारमा समस्या परेका विभिन्‍न खेलका चार खेलाडीलाई राष्‍ट्रिय खेलाडी कल्याणकारी कोषले सोमबार उपचार खर्च उपलब्ध गराएको छ ।


कोषले विभिन्‍न खेलका चार खेलाडीलाई २ लाख ९ हजार ६ सय ५५ रुपैयाँ प्रदान गरेको हो । नेपाल राष्‍ट्रिय तथा अन्तर्राष्‍ट्रियखेलाडी संघका अध्यक्ष एवं कोषका सदस्यसचिव दीपक श्रेष्‍ठले ब्याडमिन्टनकी रञ्‍जना भट्ट, टेबल टेनिसकी मारिया थापा मगर, जुडोकी सुनीता बोहरा र उसुकी सिलु डंगोललाई उपचार खर्च उपलब्ध गराएको जानकारी दिए ।

ब्याडमिन्टनकी रञ्‍जना र टेबल टेनिसकी मारियालाई जनही ८० हजार रुपैयाँ प्रदान गरिएको थियो । जुडोकी सुनीता बोहरालाई ३० हजार र उसुकी सिलु डंगोललाई १९ हजार ६ सय ५५ रुपैयाँ उपलब्ध गराइएको थियो ।

सुदूर पश्‍चिम प्रदेशमा रहेकी जुडोकी सुनीताको रकम नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यलाई हस्तान्तरण गरिएको थियो । राष्‍ट्रिय खेलकुद परिषद्का सदस्य हरि खड्काले खेलाडीलाई सहयोग रकमबराबरको चेक हस्तान्तरण गरे । 

चालू आर्थिक वर्षमा कोषले यी चारसहित कुल १३ खेलाडीलाई उपचार खर्चवापत जम्मा ११ लाख ३४ हजार ६ सय ५५ रुपैयाँ वितरण गरिसकेको छ । कोषले यसअघि पाँच खेलका खेलाडी र पूर्वखेलाडी गरी ९ जनालाई ९ लाख २५ हजार रुपैयाँ प्रदान गरेको थियो । 

२०६८ सालमा १ करोड रुपैयाँबाट यो कोष स्थापना गरिएको थियो । हाल उक्त कोषमा १ करोड ४० लाख रपैयाँ रहेको सदस्यसचिव श्रेष्‍ठले जानकारी दिए । त्यसैको ब्याजबाट समस्यामा परेका खेलाडीलाई सहयोग गरिँदै आएको छ ।