खेलाडी

काठमाडौं, (खेलाडी)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले कोभिड १९ को कारण खेलकुद क्षेत्रमा देखिएको प्रभाव र यस महामारीका विच खेलक्षेत्रको सक्रियताका बारेमा भर्चुअल छलफल आयोजना गरेको छ ।

छलफलमा कोभिड १९, त्यसको प्रभाव, सुरक्षाको उपाय, र खेलक्षेत्रलाई चलायमान गर्ने सम्वन्धमा के कसरी अगाडी बढ्न सकिन्छ‍ भन्‍ने बारेमा मुख्य वक्ता राखेपका पूर्व चिकित्सक अजयसमशेर राणाले जानकारी गराए । 

कोभिड १९ का कारण सवै क्षेत्र अक्रान्त भइरहेको अवस्थामा खेलकुद क्षेत्र पनि अछुतो रहन सकेको छैन । कोभिडका कारण खेल क्षेत्रका व्यक्तिहरुले पनि आफ्नो ज्यान गुमाउन पुगेका छन् । यस्तै कतिपय व्यक्तिहरु संक्रमणका कारण आइसोलेसन र अस्पतालमा उपचार गराइरहेका छन् । 

राखेपका सदस्यहरु इन्दिरा निरौला, रिम रानाभाट, तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जून बिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्‍ठ लगायतले कोभिडका कारण खेलकुद क्षेत्रले भोग्‍नु परेको प्रभावका वारेमा विचार राखेका थिए ।