काठमाडौं । हिमालयन चेस एकेडेमीले हरितालिका तीजको अवसरमा शुक्रबार ‘तीज स्पेशल टोर्नी २०२४’ चेस प्रतियागिता आयोजना गर्ने भएको छ ।
महिला खेलाडीले मात्र सहभागिता जनाउन पाउने एक दिने र्यापिड चेस प्रतियोगिता थापाथलीस्थित हिमालयन चेस एकेडेमीमा सञ्चालन गरिनेछ ।
एकेडेमीकी संस्थापक मोनालिशा खम्बुकाअनुसार प्रतियोगितामा ३० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । स्विस प्रणालीअनुसार पाँच चरणमा हुने प्रतियोगितामा आर्बिटरलगायत प्राविधिक पक्ष पनि महिलाले नै सम्हाल्ने छन् ।
प्रतियोगितामा प्रत्येक खेलाडीले हरेक खेलमा १० मिनेटसँगै प्रतिमुभ १० सेकेन्ड उपयोग गर्न पाउने छन् । शीर्ष तीनलाई मेडलसँगै आकर्षक पुरस्कार प्रदान गर्ने बताइएको छ ।
हिमालयन चेस एकेडेमीले तेस्रो प्रतियोगिता आयोजना गर्न लागेको हो । एकेडेमीले यसअघि एसइइ कप र हिमालयन १०० (फिडेको सयौं वार्षिकोत्सवको अवसरमा गिनिज विश्व कीर्तिमानका लागि) सफलतापूर्वक आयोजना गरेको थियो ।