काठमाडौं । बुधबारबाट सुरु भएको सहिद स्मारक महिला लिग अनिश्चित कालका लागि स्थगित भएको छ ।
राजधानीमा जारी पुरुष राष्ट्रिय लिगमा खेलिरहेका सहभागी विभिन्न क्लबहरुले विना श्रम स्विकृति विदेशी खेलाडीलाई अवैधानिक तवरले खेलाएको विषयमा परेको उजुरीका आधारमा अध्यागमन विभागले बिहीबार पर्यटक भिसामा रहेका विदेशीलाई व्यावसायिक खेल गतिविधिमा संलग्न नगराउन एन्फालाई पत्राचार गरेको थियो ।
यही कारण एन्फाले अनिश्चित कालका लागि बिहीबारै पुरुषको लिग स्थगित गरेको थियो । एन्फा स्रोतका अनुसार सुरक्षालाई मध्यनजर गर्दै महिला लिग पनि स्थगित गर्न लागिएको हो ।
सहभागी ९ मध्ये एक संकटा एफसीले चार विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । त्यसैले लिग स्थगित गर्नुपरेको एन्फा निकट स्रोतले जनायो ।
‘राखेपले श्रम स्विकृतिको लागि पत्र दिएकै छैन । त्यस्तै खेल तालिकालाई पनि अनुमोदन गरेको छैन । जसले गर्दा राखेपले प्रहरी लगाएर खेलाडी पक्राउ पार्ने नियति देखियो । त्यसकारण चुनावको मुखैमा यस्तो घटना हुन नदिन हामी लिगलाई स्थगित गर्ने अवस्थामा पुगेका हौं,’ एन्फाका एक जिम्मेवार पदमा बसेका व्यक्तिले खेलाडी डटकमलाई भने ।

