काठमाडौं । मलेसिया फुटबल संघ विश्व फुटबलको सर्वोच्च निकाय फिफाको कार्बाहीमा परेसँगै एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले तीन अंक पाएको छ ।
फिफा अनुशासन समितिको मंगलबार बसेको बैठकले फिफाको अनुशासन संहिता (एफडिसी)को धारा २२ को उल्लंघन गरेको भन्दै मलेसियालाई कारबाही गरेको छ । जसले गर्दा नेपालले अंकको खाता खोल्न सफल भएको छ ।
समूह ‘एफ’ अन्तर्गत गत जुन १० मा मलेसिया आफ्नो दोस्रो खेलमा भियतनामविरुद्ध ४-० को सहज जित हासिल गरेको थियो । क्वालालम्पुरस्थित बुकित जलिल नेशनल रंगशालामा सम्पन्न खेलमा घरेलु टोलीका लागि जाओ भिटर ब्रान्डाओ फिगुएरेडो, रोड्रिगो हुलियन होलगाडो, लरेन्स कोर्विन ओङ र डियोन कुल्सले गोल गरेका थिए ।
फिफाले होलगाडो र फिगुएरेडोसहित सात खेलाडीलाई कार्बाहीको आधिकारिक मितिबाट १२ महिनासम्म फुटबलका गतिविधिबाट प्रतिबन्ध लगाउनुका साथै २००० स्विस फ्र्यान्क (३ लाख ५४ हजार ५३७ नेपाली रुपैयाँ) जरीवाना तोकेको छ । त्यस्तै मलेसिया फुटबल संघलाई ३५ हजार स्विस फ्र्यान्क (६ करोड २० लाख ४४ हजार १४८ नेपाली रुपैयाँ) जरीवाना लगाइएको छ ।
गत सेप्टेम्बरमा फिफा अनुशासन समितिले मलेसियालाई कार्बाही सुनाएको थियो । त्यसपछि मलेसिया संघ र खेलाडीले १० दिनभित्र आफ्नो कार्बाहीविरुद्ध अपिल समितिमा निवेदन दिन भनिएको थियो । अन्ततः ६ महिनापछि मलेसिया कारबाहीमा परेको हो ।
कार्बाहीमा परेका एक जना खेलाडीले समूहको पहिलो खेलमा नेपालविरुद्ध गोलसमेत गरेका थिए । गत मार्चमा मलेसियाले नेपाललाई २–० ले हराएको थियो । दोस्रो गोल गरेका लरेन्स कोर्विन ओङ कार्बाहीमा पर्ने खेलाडी हुन् । यसकारण नेपालले तीन अंक हासिल गरेको हो ।
नेपाल एसियन कप पुग्ने समीकरणबाट बाहिरिसकेको छ । नेपालले मार्च ३१ मा लाओससँग खेल्दै प्रतियोगिताको अन्त्य गर्नेछ ।
