काठमाडौं । साविक विजेता बंगलादेश साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ ।
सोमबार पोखरा रंगशालामा सम्पन्न खेलमा बंगलादेशले चिरप्रतिद्धन्द्धी भारतलाई २–० ले हरायो । दुबै गोल पहिलो हाफमा सम्भव भएका थिए ।
बंगलादेशको यो लगातार दोस्रो जित हो । यसअघि बंगलादेशले पहिलो खेलमा भुटानमाथि १२–० को फराकिलो जित हासिल गरेको थियो । भारतले आफ्नो पहिलो खेलमा नेपाललाई १–० ले हराएको थियो ।
चार टोलीको सहभागिता रहेको प्रतियोगिता सिंगल राउन्ड रोविन पद्धत्तिमा भइरहेको छ । अंकतालिकाको शीर्ष दुईमा अटाउने टोली फाइनल पुग्ने सेटअप छ । अब बंगलादेशलाई फाइनल पुग्न बढीमा एक अंक आवश्यक छ ।
अन्तिम खेलमा बंगलादेशले घरेलु टोली नेपालको सामना गर्नेछ । भारतले भने भुटानसँग खेल्ने तालिका छ ।
सोमबार दिनको दोस्रो खेलमा नेपाल र भुटान एकअर्कासँग प्रतिस्पर्धा गर्दैछन् । दुबैलाई अर्ली एक्जिटको खतरा छ ।
