काठमाडौं । साफ यु–१९ महिला च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।
मुख्य प्रशिक्षक सुमन श्रेष्ठले सेन्ट्रल मिडफिल्डर सुशीला केसीको कप्तानीमा भारतविरुद्ध खेलेको पहिलो रोजाईमा एक परिवर्तन गरेका छन् । डिफेन्सिभ मिडफिल्डमा सलोनी कुमारी चौधरीले आज बेन्चबाट सुरु गर्नेछिन् । उनको ठाउँमा स्ट्राइकर संगीता कुमारी मल्ललाई मौका दिइएको छ ।
गोलपोस्टको जिम्मेवारीमा झरना डुम्राकोटीले नै छिन् ।
भारतविरुद्ध ४–१–४–१ फर्मेशनमा उत्रेको नेपाल आज ४–४–२ मा खेल्दैछ । डिफेन्सिभ लाइनलाई माया मास्केले लिड गर्दैछिन् । उनको सेन्टरब्याक जोडीमा मिनमाया श्रेष्ठ छिन् । यी दुईलाई राइटब्याक ग्यान्सु डोल्मा लो र लेफ्टब्याक आशिका कार्कीले साथ दिनेछन् ।
सुशीलाको सेन्ट्रल मिडफिल्ड जोडीमा साहरा लिम्बू छिन् । यसैगरी अट्याकिङ मिडफिल्डरद्धय सेनु परियार र भूमिका बुढाथोकीले दायाँ र बाँया साइडबाट टोलीको आक्रमण बुन्नेछन् । स्ट्राइकिङ लाइनमा संगीताले वर्षालाई साथ दिनेछिन् ।
