काठमाडौं । ब्रुनो फर्नान्डेसको उत्कृष्ट प्रदर्शनप्रेरित म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगलमा सोमबार रेलिगेसन क्षेत्रको उल्भरह्याम्पटनविरुद्ध ४-१ को सहज जित दर्ता गरेको छ ।
जितसँगै १५ खेलमा २५ अंक जोडेको युनाइटेड छैटौं स्थानमा उक्लिएको छ । पराजित उल्भरह्याम्पटन समान खेलबाट दुई अंकका साथ पुछारमा छ ।
मोलिनेयुक्स रंगशालामा पाहुना टोली युनाइटेडलाई जित दिलाउन फर्नान्डेसले दुई तथा ब्रायन एमबेउमो र मेसन माउन्टले एक गोल गरे । उल्भरह्याम्पटनका लागि जिनलरिकनर बेलेगार्डेले गोल फर्काए ।
खेलको २५औं मिनेटमा फर्नान्डेसको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा बेलेगार्डेले उल्भरह्याम्पटनका लागि बराबरी गोल फर्काए ।
एमबेउमोले ५१औं मिनेटमा गोल गर्दा युनाइटेड २-१ ले अगाडि बढ्यो । ११ मिनेटपछि माउन्टले टोलीका लागि तेस्रो गोल गरे ।
फर्नान्डेसले ८०औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए ।
