काठमाडौं । पेनाल्टी सुटआउटमा नव जन जागृति क्लबमाथि ८-९ को रोमाञ्चक जित हासिल गर्दै चित्लाङ एफसी एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार मकवानपुरको हेटौडास्थित गौरिटार रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा चित्लाङलाई जित दिलाउन कृष्ण रानाभाट, जय गुरुङ, गौरव श्रेष्ठ, मदन स्याङताङ, लहान सुब्बा, रोशन पहारी, सवीन लुङ्गेली मगर, चन्दन दास र विज्ञान खड्काले गोल गरे ।
‘सडन डेथ’मा रुजन न्यौपानेको प्रहारलाई गोलकिपर विशाल केसीले बचाएपछि चित्लाङ फाइनलमा प्रवेश गर्न सफल भयो । त्यसअघि चौथो प्रहारका लागि आएका कुल्दीप कार्कीको प्रहार विपक्षी गोलकिपर योगेश धिमालले बचाएका थिए ।
नव जन जागृतिका लागि विकास दर्लामी, पुजन थापा, सुजन डंगोल, देवेन्द्र तामाङ, निङ्मा घिसिङ, प्रतापसिंह राई, योगेश (धिमाल) र दीपक थापामगरले गोल गरे । त्यसअघि अविनाश स्याङ्ताङ पहिलो पेनाल्टीमा चुकेका थिए ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको चित्लाङले मंगलबार उपाधिका लागि लालिगुँरास एसोसिएसन क्लबसँग खेल्नेछ ।
समूह ‘ए’को विजेता लालिगुँरासले आइतबार पहिलो सेमिफाइनलमा काँक्रे बिहार युथ क्लबलाई २-० ले हरायो । लालिगुँरासलाई जित दिलाउन मुकुन्द कुमार निउरे र राम थापाले गोल गरे । मुकुन्दले खेलको २०औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । रामले ९०+(४) मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
