काठमाडौं । सर्वाधिक ६ पटकको विजेता अर्जेन्टिनाविरुद्ध २-० को सहज जित जित निकाल्दै मोरोक्को फिफा यु-२० विश्वकपको च्याम्पियन बनेको छ ।
मोरोक्कोले पहिलो पटक फिफाको कुनै पनि प्रतियोगिता जितेको हो ।
आइतबार चिलीको नेसनल जुलियो मार्टिनेज प्राडानोस रंगशालामा सम्पन्न फाइनलमा मोरोक्कोलाई जित दिलाउन दुवै गोल यासिर जबिरीले गरे । दुवै गोल पहिलो हाफमा भएका थिए ।
जबिरीले खेलको १२ र २९औं मिनेटमा गोल गरेका थिए ।
यसैगरी फ्रान्सविरुद्ध १-० को कठिन जित निकाल्दै कोलम्बियाले तेस्रो स्थान हासिल गरेको छ ।
सेमिफाइनलमा मोरोक्कोले फ्रान्स र अर्जेन्टिनाले कोलम्बियालाई हराएका थिए ।
च्याम्पियन मोरोक्काका ओथमाने माम्माले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल प्राप्त गरे ।
अमेरिकाका बेन्जामिन क्रेमास्चीले गोल्डेन बुट पाए । कोेलम्बियाका नाइजर भिल्लारियल र फ्रान्सका लुकास माइकलले पनि समान पाँच गोल गरे थिए । तर बढी गोलको बढि गोलको अवसर सिर्जना गरेका कारण क्रमास्चीलाई सर्वाधिक गोलकर्ता घोषणा गरिएको हो ।
क्रेमास्चीले दुई तथा भिल्लारियालले एक गोलका लागि अवसर सिर्जना गरेका थिए । माइकलले भने गोलको अवसर सिर्जना गर्न सकेनन् ।
यस्तै उत्कृष्ट गोलकिपर चुनिएका उपविजता अर्जेन्टिनाका सान्टिनो बार्बीले गोल्डेन ग्लभ्स हात पारे । अमेरिकालाई ‘फिफा फेर प्ले’ अवार्ड प्रदान गरियो ।