काठमाडौं । बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगमा मंगलबार पाफोसविरुद्ध ५-१ को सहज जित दर्ता गरेको छ ।
लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको बायर्न शीर्ष स्थानमा उक्लिएको छ । पराजित पाफोस समान खेलबाट एक अंकका साथ २७औं स्थानमा छ ।
अल्फामेगा रंगशालामा पाहुना टाेली बायर्नलाई जित दिलाउन ह्यारी केनले दुई तथा राफेल गुरेरो, निकोलस ज्याकसन र माइकल ओलिसेले समान एक गोल गरे । पाफोसका लागि मिस्लाभ ओर्सिकले गोल फर्काए ।
खेलको १५औं मिनेटमा केनको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । पाँच मिनेटपछि नै गुरेरोले टोलीको अग्रता दोब्बर बनाए ।
ज्याकसनले ३१औं मिनेटमा गोल गर्दा बायर्न ३-० ले अगाडि बढ्यो । चार मिनेटपछि नै केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।
ओर्सिकले ४५औं मिनेटमा गरेको गोल पाफोसका लागि सान्त्वना बन्यो । ६८औं मिनेटमा ओलिसेले गोल गर्दा बायर्न ५-१ ले विजयी भयो ।