काठमाडौं । नेपालले ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजसँग १० विकेटको फराकिलो हार बेहोरको छ ।
यससँगै नेपालले तीन खेलको शृंखला २-१ ले आफ्नो पक्षमा पारेको छ । नेपालले पहिलो पटक पूर्ण सदस्य राष्ट्रविरुद्धको द्विपक्षीय शृंखला आफ्नो पक्षमा पर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।
नेपाल पहिलो खेलमा १९ र दोस्रो खेलमा ९० रनले विजयी भएको थियो ।
युएईको शारजहाँ क्रिकेट रंगशालामा नेपालले प्रस्तुत गरेको १२३ रनको लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो ।
वेस्ट इन्डिजका लागि आमिर जाङ्गुले ४५ बलमा ६ चौका र दुई छक्काको मदद्तले अविजित ७४ र अकिम अगस्टेले अविजित ४१ रन बनाए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा १२२ रनमै समेटिएको थियो।
नेपालका लागि कुशल भुर्तेलले ३९, कप्तान रोहितकुमार पौडेलले १७, सन्दीप जोराले १४ र कुशल मल्लले १२ रन बनाए ।
वेस्ट इन्डिजका लागि रेमोन सिमन्ड्सले चार, जेडिया ब्लेड्सले दुई तथा जेसन होल्डर र कप्तान अकिल होसेनले समान एक विकेट लिए ।