काठमाडौं । युरोपियन फुटबलको प्रतिष्ठित प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन मंगलबार (आज)बाट सुरु हुँदैछ ।
प्रतियोगिताको पहिलो दिन आज ६ खेल हुँदैछन् । नेपाली समयअनुसार राति १०ः३० बजे हुने पहिलो खेलमा अघिल्लो सिजनको ‘सेमिफाइनलिस्ट’ आर्सनलले स्पेनिस क्लब एथलेटिक क्लबको प्रतिस्पर्धा गर्नेछ । खेल एथलेटिकको घरेलु मैदान ‘इस्टाडियो दी सान मामेस’ रंगशालामा हुनेछ ।
यही समयमा डच टोली पिएसभी आइन्डहोभनले बेल्जियमको युनियन सेन्ट गिलोइसको आतिथ्य गरिरहेको हुनेछ ।
मध्यराति १२ः४५ बजे चार खेल हुनेछन् । कीर्तिमानी १५औं पटकको विजेता, स्पेनिस महारथी रियाल मड्रिडले सान्टियागो बर्नबाउमा फ्रेन्च क्लब मार्सेको सामना गर्नेछ । पूर्व खेलाडी जाभी ओलन्सोको नेतृत्वमा रियालले पहिलो च्याम्पियन्स लिग खेल खेल्दैछन् ।
त्यस्तै पोर्चिगिज क्लब बेनफिकाले अजरबाइजानको काराबाग एफकेको सामना गर्दा गत वर्ष युरोपा लिगको उपाधि जितेको टोटनहम हटस्पर्शले स्पेनिस क्लब भिलारियालसँग खेल्नेछ । इटालियन जायन्ट युभेन्टस र जर्मन क्लब बोरुसिया डर्टमन्डको खेल पनि यही समयमा छ ।
नयाँ ‘फर्म्याट’मा च्याम्पियन्स लिगको यो दोस्रो सिजन हो । प्रत्येक टोलीले आठ भिन्न प्रतिद्धन्द्धीसँग प्रतिस्पर्धा गर्ने फम्यार्टमा अंकतालिकाको शीर्ष आठभित्र अटाउनेले सोझै प्रि-क्वार्टरफाइनलमा प्रवेश पाउनेछ । त्यस्तै सहभागी ३६ मध्ये ९औं देखि २४औं स्थानमा रहने टोलीले अन्तिम १६ का लागि प्लेअफ खेल्नेछन् । बाँकी टोली भने प्रतियोगिताबाट बाहिरिनेछन् ।