काठमाडौं । श्रीलंकाको कोलम्बोमा यही सेप्टेम्बर १५ देखि २७ सम्म हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपमा नेपालको कप्तानी रक्षक प्रशान्त मोक्तानले गर्ने भएका छन् ।
तल्लो उमेर समूहको प्रतियोगितामा लगातार तेस्रो पटक नेपालको जर्सीमा देखिन लागेका प्रशान्तले पहिलो पटक यो अवसर प्राप्त गरेका हुन् ।
सञ्जित सिंहको नेतृत्वमा रहेको युवा टोलीमा प्रशान्त सबैभन्दा धरै अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ पाएका खेलाडी हुन् । प्रशान्त यसै वर्ष भारतमा सम्पन्न साफ यु–१९ च्याम्पियनसिपमा उर्जन श्रेष्ठको नेतृत्वमा रहेको नेपाली टोलीका प्रमुख खेलाडीमध्ये एक थिए ।
प्रशान्तले यसअघि 'साफ यु-१६ च्याम्पियनसिप २०२३' र 'साफ यु-१७ च्याम्पियनसिप २०२४'मा नेपालको जर्सी लगाएका थिए । यी दुबै संस्करण भुटानले आयोजना गरेको थियो ।
गत वर्ष विभागीय टोली नेपाल पुलिस क्लबले ललित स्मृति यु-१८ लिगको उपाधि जित्दा प्रशान्त टोलीका सदस्य थिए ।
प्रशान्तसँगै गोलकिपर पेम्बा नोर्बु भोटेको पनि तल्लो उमेर समूहमा यो लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
समूह ‘ए’मा रहेको नेपालले सेप्टेम्बर १५ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले सेप्टेम्बर १४ मा बंगलादेशको सामना गर्नेछ । समूह ‘बी’मा भारत माल्दिभ्स, पाकिस्तान र भुटान छन् । सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने सेट–अप छ ।
टोली शनिबार कोलम्बो प्रस्थान गर्ने तालिका छ ।
नेपाली टोली
गोलकिपरः पेम्बानुर्बु भोटे, राम बोहरा, विशेष बानियाँ
रक्षकः प्रशान्त मोक्तान (कप्तान), दिपेन कार्की, धिरज रावल, आदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया, अनोज खड्का
मिडफिल्डरः प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्ट भण्डारी, प्रतिश थापामगर, भुपेश लामा, नसिब हेन्जन, सुशन मगर, सुजन स्याङ्तान
फरवार्डः समीर कुमार, दिगविजय शाही, निसकुमार श्रेष्ठ, रोहित श्रेष्ठ