काठमाडौं । खेलाडी, प्रशिक्षक, निर्णायक वा प्रशासकहरू नै खेलकुदका वास्तविक सिपाही हुन् । यस्ता सरोकारवाला, जसको अनुपस्थितिमा कुनै पनि खेलको अस्तित्व कल्पना समेत गर्न सकिन्न ।
तर यतिमात्र पूर्ण सत्य होइन । कुनै पनि खेलको विकास र विस्तारमा अरू धेरै पक्षको योगदान अपरिहार्य हुन्छ । मुख्य सरोकारवालालाई खेलकुदमै समर्पित भइरहने वातावरण मिलाउन पनि यसबाहेकको साथ अपेक्षित हुन्छ ।
खेलकुदमा समर्पित कुनै संस्था, केही व्यक्तिहरूको समूह, खेल अभियन्ता, समर्थक, प्रायोजक, पत्रकार, खेलाडी वा खेलकर्मीको परिवार अनि अरू थुप्रै पक्षको ‘टिमवर्क’ जब सही तरिकाले संयोजित हुन्छ, त्यसपछि खेलकुद वास्तवमा आफ्नो मर्मअनुसार समाजमा गतिशील भइरहन्छ ।
कुनै पनि खेलको श्रीवृद्धि वा निश्चित सफलतामा विशेष योगदान रहने जो कोहीको भूमिका कहिलेकाहीँ स्पष्टसँग परिभाषित नहुन सक्छ । उसका प्रत्यक्ष/अप्रत्यक्ष योगदानकै कारण खेल क्षेत्रले सत्मार्ग समातिरहेको हुन्छ । आवश्यक उर्जा प्राप्त गरिरहेको हुन्छ । तर अन्य सरोकारवाला तथा परिस्थितिलाई हटाउँदा उसको योगदानको मूल्य कम देखिन सक्छ । जबकि समग्रतामा त्यस्तो योगदान खेलकुदको सकारात्मक उर्जाका रूपमा क्रियाशील भइरहेको हुन्छ । विशेष हुन्छ ।
त्यस्तै योगदानहरूको कदरका लागि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले पल्सर स्पोर्टस अवार्डमा समावेश गरेको विधा हो, ‘स्पेसल अवार्ड’ । खेलाडी, प्रशिक्षक, निर्णायक, प्रशासक, खेल अधिकारी, प्रायोजक, पत्रकार, समर्थक, अभियन्ता, खेलाडी परिवार वा अरू कोहीबाट खेलकुदका लागि हुने विशेष योगदानप्रति कृतज्ञता जाहेर गर्ने विधा हो यो ।
२०६४ सालबाट सुरु भएर १७ संस्करणको यात्रा पूरा गर्दा यो विधाबाट सम्मानितहरूको सूचीले यही भन्छ । २०५४ सालमा एनएसजेएफले सुरु गरेको अवार्डका २१ संस्करण पूरा भइसकेका छन् । तर ‘स्पेसल अवार्ड’को विधा पाँचौं संस्करणबाट मात्र सुरु गरिएको थियो । जतिबेला हरिबहादुरले एभरेस्ट म्याराथनमा विश्व कीर्तिमान बनाएका थिए ।
पहिलो पटक विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायबाट सुरु भएको यो विधाका १७ संस्करणमा १८ व्यक्ति र २ संस्था सम्मानित भइसकेका छन् । त्यसमा ८ जना खेलाडी छन् भने ३ प्रशिक्षक, ३ प्रशासक, खेलाडी परिवारका २ तथा १/१ जना चिकित्सक र पत्रकारको विशेष योगदान स्पेसल अवार्डबाट सम्मानित भइसकेको छ ।
तीन पटक स्पेसल अवार्डबाट दुई खेलकर्मी संयुक्त रूपमा सम्मानित हुँदा एक पटक दिवंगत भइसकेका व्यक्तिलाई मरणोपरान्त यो पुरस्कार दिइएको छ । खेल विशेष छुट्याउँदा फुटबल र क्रिकेटका समान ४, जुडो, ब्याडमिन्टन, तेक्वान्दो र एथलेटिक्सका समान २ व्यक्ति/संस्था सम्मानित हुँदा भलिबलका एकजना स्पेसल अवार्डको हकदार भएका छन् ।
अनाथ, असहाय तथा कठिन परिस्थितिका बच्चाहरूलाई फुटबलको माध्यमबाट राष्ट्रिय स्तरको खेलाडी तथा सक्षम नागरिक बनाउने अभियानमा लामो समयदेखि क्रियाशील पोखराको सहारा क्लबको योगदान २०६५ सालको दोस्रो संस्करणमा ‘स्पेसल अवार्ड’बाट सम्मानित हुँदा कारागारमा रहेकाहरूका सन्तानलाई जुडोको माध्यमबाट अगाडि बढाइरहेको बन्दी सहायता नियोग (पाम)लाई यही सम्मान २०७४ सालमा दिइएको थियो ।
१० वटा फरक विधामा खेलाडी तथा खेलकर्मीका योगदानलाई एकै थलोमा स्मरण गरिने अवार्डका बाँकी ९ विधामा स्पष्ट रूपमा परिभाषित नहुने खेलाडी तथा प्रशिक्षकका विशेष उपलब्धि समेट्ने क्रममा ८ खेलाडी र ३ प्रशिक्षक ‘स्पेसल अवार्ड’ को हिस्सा बनेका छन् ।
खेलाडीबाट २०६६ सालमा क्रिकेटका महबुब आलम, २०६७ सालमा तेक्वान्दोका दीपक विष्ट, २०७१ सालमा क्रिकेटका शरद भेषावकर तथा २०७५ मा क्रिकेटकै करण केसी अघिल्लो वर्ष गरेको अद्भूत प्रदर्शनका कारण स्पेसल अवार्डबाट सम्मानित भएको इतिहास । फुटबलका रोहित चन्दले २०७६ सालमा यो अवार्ड प्राप्त गर्दा २०७७ सालमा भने दुई खेलाडी संयुक्त रूपमा ‘स्पेसल अवार्ड’ बाट सम्मानित भए । अघिल्लो वर्षको विशेष प्रदर्शनका आधारमा त्यो वर्ष तेक्वान्दोकी आयशा शाक्य र एथलेटिक्सकी गोल्डेन गर्ल सन्तोषी श्रेष्ठको भागमा यो अवार्ड परेको थियो ।
फुटबल प्रशिक्षक एवं अभियन्ताद्वय भगिरथ आले र दिलीप राईले संयुक्त रूपमा २०६८ सालमा स्पेसल अवार्ड पाए । लगत्तैको वर्ष भारोत्तोलन र ब्याडमिन्टनमा गरेको विशेष योगदानका आधारमा रतन टण्डन सम्मानित भएका थिए । न्यु डायमन्ड स्पोर्ट्स एकेडेमीमार्फत नेपालको महिला भलिबलमा अतुलनीय योगदान गरेका प्रशिक्षक कुमार राईको भागमा गत वर्ष यो अवार्ड परेको थियो ।
नेपालमा दृष्टिविहीन क्रिकेटलाई विश्वस्तरमा पुर्याउन महत्वपूर्ण योगदान गरेका नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे र संघको भूमिकालाई २०७० सालमा ‘स्पेसल अवार्ड’ अर्पण गरिएको थियो ।
यसैगरी नेपाली फुटबलमा समन्वयकारी नेताको रूपमा परिचित अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठलाई २०७३ सालमा मरणोपरान्त यो अवार्ड प्रदान गरिएको थियो ।
आफैं खेलाडी वा खेलकर्मी नभए पनि नेपाली खेलकुदको श्रीवृद्धिमा पूरा जीवन खर्चिएका चिकित्सक डा. अजय राणा तथा पोखरेली फोटो पत्रकार एवं खेलकुद अभियन्ता सुदर्शन रञ्जितको विशेष योगदानलाई क्रमशः २०७८ र २०८० सालमा ‘स्पेसल अवार्ड’बाट सम्मानित गरिएको थियो ।
स्पोर्टस अवार्डको बहुआयामलाई व्यवहारमा उतार्ने यो विधाबाट देशलाई तीन जना राष्ट्रिय खेलाडी दिने गर्विला मातापिता दानबहादुर र मायादेवी तामाङ २०७९ सालमा सम्मानित भएका थिए । ब्याडमिन्टनका राष्ट्रिय खेलाडी रत्नजित, नङ्सलदेवी र सरादेवी तामाङलाई जन्म दिनुका साथै खेलकुदीय वातावरणमा हुर्काएर देशको सेवा गर्ने अवस्थासम्म पुर्याएवापत तामाङ दम्पति सम्मानित भएका हुन् ।