काठमाडौं । समर्थकको कहालिलाग्दो उपस्थितिले दुई वर्षपछि घरेलु भूमिमा फर्किएको अन्तर्राष्ट्रिय फुटबल खल्लो बन्यो । अन्तर्राष्ट्रिय फुटबल खेल हुँदा दशरथ रंगशालाको माहोलले जुन रोमाञ्च र आनन्द दिन्थ्यो, त्यो सम्भव थिएन । खेल हेर्न जति आए, तिनीहरुले पनि आफ्नो देशले गोल गरेको हेर्न पाएनन् । नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेल्यो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि १० हजार टिकट विक्री गर्ने जानकारी गराएको थियो । जुन रंगशालाको क्षमताभन्दा ५ हजारले कम हो । तर, शनिबार खेल हेर्न बढीमा ५ हजार समर्थक रंगशाला आए ।
दर्शकको चापलाई व्यवस्थापन गर्न नसकेर चर्को आलोचना खेपेको एक वर्ष पनि बित्न नपाउँदै एन्फाले यस किसिमको दयनीय अवस्था आत्मसात गरेको छ ।
पछिल्लो एक वर्षभित्र दशरथ रंगशालाले महिला फुटबलका दुई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो । कार्तिक महिनामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सातौं संस्करण र फागुनमा चार देशसम्मिलित अन्तर्राष्ट्रिय च्याम्पियनसिप यही मैदानमा भएको थियो । साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतविरुद्ध १८ हजारभन्दा बढी दर्शक रंगशाला पुगेका थिए । जसका कारण दर्शकहरुको सुरक्षालाई ध्यानमा राख्दै एन्फाले फाइनलमा टिकट सङ्ख्यालाई घटाउनु परेको थियो ।
दशरथ रंगशालामा पुरुष टोलीले सन् २०१३ नोभेम्बर १७ यता अन्तर्राष्ट्रिय फुटबल खेल खेल्न पाएका थिएनन् । दशरथ रंगशालामा पुरुष टोलीले अन्तिम पटक यमनविरुद्ध फिफा विश्वकप २०२६ को दोस्रो चरणको खेल खेलेका थिए । त्यसयता अन्तर्राष्ट्रिय स्तरको मापदण्ड नपुगेको भन्दै रंगशालालाई असुरक्षित प्रस्तुत गरिँदै आएको छ ।
नेपालले यही कारण फिफा विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) र बहराइनविरुद्धको खेल गुमाएको थियो । एएफसी एसियन कप छनोटको तेस्रो चरणका खेलहरुमा नेपालले यही अक्टोबर र नोभेम्बरमा भियतनाम र मलेसियाविरुद्ध खेल्ने तालिका छ । तर, रंगशालाका भौतिक पूर्वाधारहरुमा देखिएको कमजोरी र खतराका कारण यी खेल पनि दशरथ रंगशालामा नहुने पक्का भइसकेको छ ।
घरेलु मैदानमा यसरी अन्तर्राष्ट्रिय खेल खेल्न नपाइरहँदा यसले समर्थकमाझ नकारात्मक सन्देश दिइरहेको छ । जसको प्रत्यक्ष असर बंगलादेशविरुद्धको खेलमा देखिएको अनुमान गर्न सकिन्छ ।
नेपालले बंगलादेश अगाडि गत जुनमा लाओससँग तेस्रो चरण अन्तर्गत आफ्नो दोस्रो खेल खेलेको थियो । तुलनात्मक रुपमा कमजोर मानिएको लाओससँग नेपालले २-१ को दूर्भाग्यजनक हार बहोर्यो । लाओससँगको हारसँगै सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा पुग्ने सम्भावना न्युन बनेको छ ।
पुरुष फुटबलको पछिल्ला परिणामहरुले पनि समर्थकलाई पक्कै पनि निराश बनाएको छ । त्यसमाथि देशमा शीर्ष डिभिजन लिग नभएको दुई वर्षभन्दा धेरै भइसक्यो ।
‘देशमा पुरुष फुटबल पनि छ र ? भन्ने हुन थालिसक्यो । हामी फुटबललाई माया मार्न सक्दैनौं । तर, पुरुष फुटबलले हामीलाई पछिल्लो समय निराशा बाहेक अरु दिएको छैन,’ गोदावरी, ललितपुरबाट खेल हेर्न आएका राजीभ सिलवालले भने ।
खेलाडी आफ्नो मातृभूमिमा खेल्न पाउँदा जति उत्साहित थिए, समर्थकको कहालिलाग्दो उपस्थितिले उनीहरुको मन पक्कै पनि खिन्न बनाएको छ ।
‘हामीलाई आफ्नो रंगशालामा खेल्न पाउनु नै ठूलो कुरो हो । तर, फुटबलमा जुनसुकै परिस्थितिमा पनि खेल्नु पर्छ । सायद समर्थकहरु धेरै आउनुभएको भए खेलाडी थोरै भए पनि मोटिभेटेड हुन्थे,’ टोलीका उप–कप्तान रोहित चन्दले भने, ‘मंगलबार हुने दोस्रो खेलमा समर्थक आउँछन् भन्ने आश छ। यसले नेपाली फुटबल अझै चलायमान छ भन्ने देखाउने छ ।’
मैदान भित्रको कुरा गर्ने हो भने नेपाल र बंगलादेश दुबैले गोलका लागि एकाधबाहेक गतिलो अवसर सृजना गर्न सकेनन् ।
दुबै टोलीबाट सुरुआती ४५ मिनेटमा समान एक ‘सट्स अन टार्गेट’ सम्भव भएका थिए । यी दुबै अबसरमा गोलकिपर बाधक बन्दा कुनै पनि टोलीले अग्रता लिन सकेन ।
खेलको १०औै मिनेटमा बंगलादेशले पहिलो खतरा बुनेको थियो । कप्तान जमल भुयाँको कर्नर क्रसमा राकिब होसेनको हेडमार्फत बललाई पोस्टको दिशा दिएका थिए । तर, गोलकिपर किरण चेम्जोङले नेपालको खतरा टारिदिए ।
खेलको मध्यतिर फ्रिकिक अवसरमा नेपाल गोलको निकै करिब पुगेको थियो । लेफ्ट साइडबाट मिडफिल्डर मणि लामाको प्रहारमा रक्षक अनन्त तामाङले हेडमार्फत बललाई दोस्रो बारको दिशा दिएका थिए । तर, गोलकिपर मोहम्मद सुजोन होसेन ‘अलर्ट’ रहँदा बंगलादेशी खेलाडीले राहतको सास फेर्यो । यसअघि अञ्जन विष्ट भुयाँबाट फउल भएका थिए । जसका कारण नेपालले सेटपीस अवसर प्राप्त गरेको थियो ।
पहिलो खतरा बुनेको केही मिनेटमै नेपालले त्यही क्षेत्रमा अर्को फ्रिकिक अवसर प्राप्त गर्यो । फेरि एकपटक मणि बलमा थिए । तर, यसपाली उनको प्रहारलाई सुजोनले सहजै नियन्त्रणमा लिए ।
निर्धारित पहिलो हाफ सकिन ६ मिनेट बाँकी रहँदा सुमोन रेजाले गरेको प्रहार क्रस–बारभन्दा माथिबाट बाहिरयो । किरण अगाडि आएको मौकामा सुमोनले बक्स भित्रबाट गोलको प्रयास गरेका थिए ।
खेलको ६८औं मिनेटमा फरवार्ड जिलेश्पीजंग कार्कीले बक्स बाहिरबाट गरेको शक्तिशाली प्र्रहार सुजोनले बचाए ।
१० मिनेटपछि बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मोहम्मद ताज उदीनले बक्स बाहिरबाट गोलको प्रयास गरे । उनको प्रहारलाई किरणले कठिनाईका साथ नियन्त्रणमा लिएका थिए ।
दोस्रो मैत्रीपूर्ण खेल सेप्टेम्बर ९, मंगलबार हुनेछ ।