काठमाडौं । नेपाल र बंगलादेशबीच जारी मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा दुबै टोलीबाट सुरुआती ४५ मिनेटमा समान एक ‘सट्स अन टार्गेट’ सम्भव भएका छन् । यी दुबै अबसरमा गोलकिपर बाधक बन्दा कुनै पनि टोलीले अग्रता लिन सकेन ।
खेलको १०औै मिनेटमा बंगलादेशले पहिलो खतरा बुनेको थियो । कप्तान जमल भुयाँको कर्नर क्रसमा राकिब होसेनको हेडमार्फत बललाई पोस्टको दिशा दिएका थिए । तर, गोलकिपर किरण चेम्जोङले नेपालको खतरा टारिदिए ।
खेलको मध्यतिर फ्रिकिक अवसरमा नेपाल गोलको निकै करिब पुगेको थियो । लेफ्ट साइडबाट मिडफिल्डर मणि लामाको प्रहारमा रक्षक अनन्त तामाङले हेडमार्फत बललाई दोस्रो बारको दिशा दिएका थिए । तर, गोलकिपर मोहम्मद सुजोन होसेन ‘अलर्ट’ रहँदा बंगलादेशी खेलाडीले राहतको सास फेर्यो । यसअघि अञ्जन विष्ट भुयाँबाट फउल भएका थिए । जसका कारण नेपालले सेटपीस अवसर प्राप्त गरेको थियो ।
पहिलो खतरा बुनेको केही मिनेटमै नेपालले त्यही क्षेत्रमा अर्को फ्रिकिक अवसर प्राप्त गर्यो । फेरि एकपटक मणि बलमा थिए । तर, यसपाली उनको प्रहारलाई सुजोनले सहजै नियन्त्रणमा लिए ।
निर्धारित हाफ सकिन ६ मिनेट बाँकी रहँदा सुमोन रेजाले गरेको प्रहार क्रस–बारभन्दा माथिबाट बाहिरयो । किरण अगाडि आएको मौकामा सुमोनले बक्स भित्रबाट गोलको प्रयास गरेका थिए ।