काठमाडौं । लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टरमाथि २-० को जित हासिल गर्दै झापा एफसी एन्फा राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताअन्तर्गत समूह ‘बी’को तेस्रो स्थान सुरक्षित गरेको छ ।
तेस्रो स्थान सुरक्षित गरेसँगै झापाले कम्तिमा पनि प्लेअफ पुग्ने पक्का भएको छ । लम्कीविरुद्धको जितसँगै झापाले सबै ६ खेलबाट १२ अंक जोड्दै तेस्रो स्थान सुरक्षित गरेको हो ।
यो समूहबाट संकटा यसअघि नै राष्ट्रिय लिगका लागि छनोट भइसकेको छ । व्यावहारिक रुपमा राष्ट्रिय लिगमा स्थान बनाइसकेको न्युरोड टिम (एनआरटी)ले एक खेल खेल्न बाँकी छ ।
सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्ष दुई भित्र अटाउने टोली सोझै राष्ट्रिय लिगका लागि छनोट हुने सेट-अप छ । बिहीबार मात्र समूह ‘ए’बाट आरएस रिसोर्ट एन्ड बिच फुटबलले यो उपलब्धि हासिल गरेको थियो । आरएसले आफ्नो अन्तिम खेलमा स्टुडेन्ट एफसीलाई ४-१ ले हरायो ।
लिगमा शुक्रबार दुई खेल हुनेछन् । दिनको पहिलो खेलमा सिन्धुपाल्चोक एफसीले रियले एफसीको सामना गर्नेछ । खेल च्यासल मैदानमा बिहान ९ बजे हुनेछ । दिउँसो १ बजे हुने दोस्रो खेलमा एनएमबी पोखरा गल्र्स र नेपाल खेलकुद क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी सबै टोली राष्ट्रिय लिगमा छनोट हुने समीकरणबाट बाहिरिसकेका छन् ।