भाद्र २१, २०८२ आइतबार | १४:४१:०१
पल्सर स्पोर्टस अवार्डसँग जोडियो नासा रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा रवीन्द्र साफ यु-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा साबालेन्काले गरिन् युएस ओपनको उपाधि रक्षा इङ्ल्यान्डको विजयी यात्रा जारी विश्वकप छनोटमा पोर्चुगलको विजयी सुरुआत ‘अयोग्य’ रंगशालामा आएनन् दर्शक एसियन कप पुग्ने नेपालको चुनौती समाप्त पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले खेले गोलरहित बराबरी नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित पल्सर स्पोर्टस अवार्डसँग जोडियो नासा रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा रवीन्द्र साफ यु-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा साबालेन्काले गरिन् युएस ओपनको उपाधि रक्षा इङ्ल्यान्डको विजयी यात्रा जारी विश्वकप छनोटमा पोर्चुगलको विजयी सुरुआत ‘अयोग्य’ रंगशालामा आएनन् दर्शक एसियन कप पुग्ने नेपालको चुनौती समाप्त पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले खेले गोलरहित बराबरी नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित
शनिबारको दिन शनिबारको दिन

उमेर समूहको कमजोर प्रदर्शनले उब्जाएका प्रश्नहरू

काठमाडौं । नेपालको यु-१७ महिला राष्ट्रिय फुटबल टोली भुटानमा सम्पन्न साफ च्याम्पियनसिपमा बिर्सनलायक प्रदर्शन गरेर स्वदेश फर्किसकेको छ ।

महिला फुटबलले पछिल्लो वर्ष घरेलु र अन्तर्राष्ट्रिय फुटबलमा आशाका केही किरण देखाइरहँदा किशोरीको दयनीय प्रदर्शनले नेपाली खेलप्रेमीको मन पक्कै दुखेको हुनुपर्छ । खेलाडीको प्रदर्शन वास्तवमै कमजोर रह्यो । समग्रमा भुटान भ्रमणले नेपाली महिला फुटबलको स्तर कहाँ छ भन्ने छर्लङ्ग पारिदिएको छ ।

तुलनात्मक रूपमा कमजोर मानिने भुटानसँग दुई लेगमा चार अंक बटुलेको नेपालले भारत र बंगलादेशसँग दुवै लेगमा पराजय बेहोरेको थियो । डबल राउन्ड रोबिन पद्धतिमा खेलाइएको प्रतिस्पर्धामा नेपालले ६ खेलमा कुल २१ गोल सामना गरेको थियो । भारतले मात्र नेपालको पोस्टमा एक दर्जन गोल गर्यो ।

टोलीले दयनीय प्रदर्शन गर्नुमा कयौं कारण थिए । पहिलो कारण, कम प्रशिक्षण समय नै हो । तीन दिनको प्रारम्भिक खुला छनोट अनि तीन साताको बन्द प्रशिक्षण, टोलीको तयारी त्यतिमै सीमित थियो । थोरै प्रशिक्षण समयका बावजुद टोली भुटानमा सकारात्मक नतिजा ल्याउन सक्नेमा आशावादी थियो । तर, उद्घाटन खेलमै नेपाल भारतसँग ७–० को हार बेहोर्न बाध्य भयो ।

च्याम्पियन भारतले प्रतियोगितालाई भनेर दुई चरणमा साढे तीन महिना प्रशिक्षण गरेको थियो । जनवरीमा पहिलो चरणको प्रशिक्षण भएको थियो । प्रारम्भिक चरणमा बोलाइएका खेलाडीलाई एक महिनाको प्रशिक्षणपछि बिदा दिइयो । कारण, भारतमा घरेलु लिग (इन्डियन वुमेन्स लिग-आइडब्लुएल) चलिरहेको थियो । आइडब्लुएल सकिएपछि खेलाडी जुनमा फेरि बन्द प्रशिक्षणमा जोडिए ।

नेपाली यु-१७ टोली । 

साबिक विजेता बंगलादेशको टोली १४ महिनायता एकेडेमीमै बसेर प्रशिक्षण गरिरहेको थियो । भुटानको तयारी अवस्था पनि त्यही थियो ।

कुल ५४० मिनेटमा स्ट्राइकरबाट मात्र एउटा ‘शट अन टार्गेट’ सम्भव भयो । जुन सुन्दा नमज्जा लाग्ने तथ्याङ्क हो ।

‘हामीले नानीहरूलाई पर्याप्त समय दिन पाएनौं । जति दिन पायौं, त्यसमा हामी कोचिङ स्टाफले मिहिनेत गर्यौं,’ मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले भन्छन्, ‘बंगलादेश र भारतले हामीभन्दा राम्रो खेले । स्तरका हिसाबमा उनीहरू हामीभन्दा धेरै माथि छन् ।’

वर्ष २०८१ महिला फुटबलका लागि सुखद रह्यो । सुखद यस अर्थमा कि खेलाडीहरू लगभग ८-९ महिना घरेलु फुटबलमा व्यस्त रहे । महिला फुटबलको बढ्दो क्रेजबीच पूर्वी झापादेखि पश्चिम नेपालगन्जसम्म घरेलु प्रतियोगिता भए । दुई वर्षपछि आयोजना भएको राष्ट्रिय महिला लिग पनि लामो समय सञ्चालन भयो । तर, यति बाक्लो एक्सपोजरमा यु-१७ का किशोरीहरू भिज्न पाएनन् ।

टोलीका ४-५ खेलाडीले मात्र घरेलु लिग खेलेका थिए । राष्ट्रिय महिला लिग दुई चरणमा खेलाइएको थियो । सुपर स्टेज अर्थात् अन्तिम चरणमा मात्र यो टोलीका एकजना खेलाडीको उपस्थिति थियो । टोलीकी उप-कप्तान सहारा लिम्बुले सर्लाहीको बागमती युवा क्लबबाट खेलेकी थिइन् ।

सुपर स्टेजमै गरेको प्रदर्शनले सहाराको करिअरले ‘टर्निङ’ लियो । लिगपछि सहारा विभागीय टोली नेपाल पुलिस क्लबको जर्सीमा देखिन थालिन् । मोफसलका सबै खेलहरूमा पहिलो रोजाइमै परिन् । जुन एक्सपोजरले भुटानमा नेपाली टोलीलाई केही हदसम्म सजिलो भयो ।

साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै नेपाल (रातो) र भारत । 

दोस्रो खेल घरेलु टोली भुटानसँग थियो । पहिलो हाफमा नेपाल एक गोलले पछाडि पर्यो । दोस्रो हाफमा दुई गोल गर्दै नेपालले भुटानमाथि पुनरागमन जित निकाल्याे । दुवै गोल सेन्टर मिडफिल्डर सहाराले गरेकी थिइन् । उनी नै खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् । नेपालले जितेको व्यक्तिगत अवार्ड यही एउटा रह्यो ।

नेपालले प्रतियोगितामा जम्मा ४ गोल गरेको थियो । बाँकी दुई गोल पनि मिडफिल्डरबाट नै सम्भव भयो । अट्याकिङ मिडफिल्डरद्वय कप्तान भूमिका बुढाथोकी र बबिता कार्कीले ‘स्कोरसिट’मा आफ्नो नाम लेखाए । प्रतियोगितामा चार स्ट्राइकर प्रयोग गरिएको थियो । कुल ५४० मिनेटमा स्ट्राइकरबाट मात्र एउटा ‘शट अन टार्गेट’ सम्भव भयो । जुन सुन्दा नमज्जा लाग्ने तथ्याङ्क हो ।

दुई खेलबाहेक सबैमा प्रशिक्षक श्रेष्ठले ४-४-२ फर्मेसनमा खेलाडीलाई मैदानमा उतारे । सेन्टर मिडफिल्डमा सहाराले बलियो साथ पाउन सकिनन् । ‘फुलब्याक’ अगाडि आएर खेल्न डराउँदा अट्याकिङको जिम्मेवारीमा रहेकी मिडफिल्डर भूमिकाले आफ्नो खेल प्रस्तुत गर्न सकिनन् । नेपालले गोल गर्न नसक्नुको मुख्य कारण यो पनि हो ।

कमजोर मानसिकता र गोल खाएपछि मनोबल घटाउने नेपाली टोलीको पुरानो बानी भन्ने गरिन्छ । 

पहिलो ‘टच’मै संघर्ष गरिरहेका खेलाडीले तीन पासभन्दा बढी खेल्न सकेनन् । चौथो पासमा विपक्षी खेलाडीले ‘इन्टरसेप्ट’ गरिसक्थ्यो । नेपालको ‘डिफेन्सिभ लाइन’ सुस्त देखियो । बललाई ५ सेकेन्ड ‘होल्ड’ गर्न पनि नेपालको रक्षापङ्क्तिलाई हम्मे भयो । टोलीकी रक्षक आशिका कार्कीको ‘भर्सटाइल’ गुणमा पूर्ण रूपमा निर्भर रह्यो । दुवै खुट्टा एकनासले चलाउन सक्ने खुबी भएका आशिकालाई सुरु सुरुमा लेफ्टब्याक पोजिसनमा प्रयोग गरिएको थियो । पछि टिमको आवश्यकताअनुसार आशिकालाई सेन्टरब्याक पोजिसनमा खेलाइयो ।

दिन बिराएर खेल्नुपर्ने तालिकाले खेलाडीलाई गाह्रो बनाएकै थियो । तर, पहिलो रोजाइमा खेलेका खेलाडीलाई प्रतिस्थापन गर्न बेन्चमा बलियो विकल्प नहुनु त्योभन्दा पनि बढी चिन्ताको विषय रह्यो । यसबाहेक गोलकिपरको अपरिपक्वता टोलीलाई महँगो साबित भयो ।

साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै नेपाल (रातो) र बंगलादेश । 

कमजोर मानसिकता र गोल खाएपछि मनोबल घटाउने नेपाली टोलीको पुरानो बानी भन्ने गरिन्छ । मुख्य प्रशिक्षक श्रेष्ठका अनुसार हारको अर्को आधार यो पनि थियो ।

‘हामीले लगभग खेलमा सुरुआती १०-१५ मिनेट राम्रो नै खेल्यौं । तर, गोल खाएपछि खेलाडीको मनोबल डाउन भइहाल्ने । नेपाली फुटबलमै यो चिन्ताजनक विषय हो,’ श्रेष्ठले भनेका थिए, ‘गोल खाइसकेपछि खेलाडी आत्तिए । खासमा आत्तिनुपर्ने त्यस्तो केही कारण थिएन ।’

नेपालमा निश्चित उमेर समूहकै लागि भनेर स्थायी प्रशिक्षक नियुक्ति गर्ने चलन छैन । जसको मारमा खेलाडी पर्दै आएका छन् । १४ महिनाअघि सम्पन्न साफ यु–१६ च्याम्पियनसिपमा टोलीको नेतृत्व चक्र तामाङले गरेका थिए । भगवती थापालाई सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको थियो । नेपालले त्यतिबेला पनि कमजोर प्रदर्शन गरेको थियो ।

तामाङको नेतृत्वमा खेलेका अधिकांश खेलाडीले यसपालि पनि राष्ट्रिय टोलीको जर्सी लगाए । टोली लगभग उही थियो । तर, यी खेलाडीलाई नेतृत्व गर्ने अभिभावक फरक थिए । श्रेष्ठको प्रशिक्षण टोलीमा नरेश थापा र रितेश मल्ल थिए । खेलाडीले आफ्ना गुरुहरूसँग र गुरुले खेलाडीसँग भिज्न समय लाग्ने नै भयो ।

नेपाली फुटबलको हकमा अहिलेलाई चाहिने भनेको बलियो व्यवस्थापन हो । 

बंगलादेशको कुरा गर्ने हो भने मुख्य प्रशिक्षक मोहम्मद महबुबुर रहमानलितु उमेर समूहको फुटबलमा जोडिएको ९ वर्ष भइसक्यो । तर, नेपालको हकमा यो सम्भव छैन ।

भारतीय टोली स्विडिस प्रशिक्षक योकिम बन्र्ट अलेक्जेन्डरसनको नेतृत्वमा भुटान पुगेको थियो । घरेलु प्रशिक्षक र विदेशी प्रशिक्षकको विचारधारामा अवश्य पनि फरक हुने गर्छ । यो कुरा भारतीय खेलाडी आफैँले स्वीकारेको तथ्य हो ।

साफ च्याम्पियनसिपको ट्रफीका साथ  नेपालका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठ (बायाँ) र कप्ता भूमिका बुढाथोकी  । 

‘विदेशी कोचको ध्यान मोर्डन फुटबलमा बढी हुन्छ । घरेलु कोच र विदेशी कोचमा हामीले धेरै भिन्नता पायौं । बन्द प्रशिक्षणको अन्तिम समयतिर हामीले विशेष प्रशिक्षण पाएको महसुस गर्यौं,’ मोस्ट भ्यालुएबल प्लेयरको पुरस्कार जितेकी भारतकी रक्षक अविस्ता बस्नेतले भनेकी थिइन् ।

भारतको सफलताको चर्चा गरिरहँदा घरेलु प्रशिक्षक कमजोर रहेको भन्न खोजिएको पक्कै होइन । सबै प्रशिक्षकमा आ-आफ्ना विशेषता हुने गर्छ । नेपाली फुटबलको हकमा अहिलेलाई चाहिने भनेको बलियो व्यवस्थापन हो । तयारीलाई पर्याप्त समय नै हो । एकचोटि एउटै प्रशिक्षकलाई २-३ वर्ष किशोर खेलाडीको जिम्मेवारी दिएर हेर्ने हो कि ?

भुटान भ्रमणपछि श्रेष्ठले भनेका थिए, ‘मलाई थप समय दिनुहोस् । यी नानीहरूलाई सिकाउन धैरै बाँकी छ । पर्याप्त समय पाएँ भने म यिनीको स्तर अवश्य पनि बढाउने छु ।’