काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले भुटानविरुद्ध ६-१ को सहज जित हासिल गरेको छ ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरिना रंगशालामा सम्पन्न दिनको दोस्रो खेलमा नेपालका लागि स्ट्राइकर पूर्णिमा राई एक्लैले चार गोल गरिन् । दुई गोल अट्याकिङ मिडफिल्डर सेनु परियारको नाममा रह्यो । नेपालले दुबै हाफमा समान तीन गोल गरेको हो ।
खेलको नवौं मिनेटमा सेनुको सुन्दर गोलमा नेपालले पहिलो अग्रता लियो । स्ट्राइकर वर्षा ओलीको पासमा विपक्षी गोलकिपर पेमा याङजोम अगाडि बढेको अवस्थामा सेनुले चलाखीपूर्ण ढंगमा गोल गरिन् । बक्स बाहिरबाट सेनुले गरेको राइट फुटेड प्रहारले दोस्रो बारको जाली चुम्यो ।

१८औं मिनेटमा वर्षाले राइट साइडबाट दिएको लोफ्टेड पासलाई पूर्णिमाले सदुपयोग गरिन् । विपक्षी रक्षकको निगरानीमा पर्न नसक्दा पूर्णिमालाई गोल गर्न कुनै कठिनाई भएन ।
निर्धारित हाफको अन्तिम मिनेटमा वर्षाको पासमा सेनुले अर्को सुन्दर गोल गरिन् । यसपालि उनको लोअर प्रहारले पहिलो बारको जाली चुम्यो ।
दोस्रो हाफको सुरुआती ९ मिनेटमा भुटानले गोल फर्काउँदै खेलमा फर्किएको संकेत दिएको थियो । अनियन्त्रित रक्षापङ्क्तिको फाइदा उठाउँएकी केल्देन वाङ्मोको लेफ्ट फुटेड प्रहारले दोस्रो बारको जाली चुमेको थियो । केल्देनको प्रहारमा गोलकिपर सुजता तामाङले कुनै पनि प्रतिक्रिया दिन सकिनन् ।

खेलको ६३औं मिनेटमा पूर्णिमाले व्यक्तिगत दोस्रो गोल गरिन् । रक्षक माया मास्केको लामो दूरीको लोफ्टेड पासलाई पूर्णिमाले गज्जबले सदुपयोग गरिन् । पूर्णिमाले विपक्षी गोलकिपर पेमा बल क्लियर गर्न बक्स बाहिर आएको मौकाको फाइदा उठाइन् । निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा पनि यही कथा दोहोरियो । मैदान प्रवेश गरेको दुई मिनेट पनि बित्न नपाउँदै समीक्षा मगरले पूर्णिमालाई लोफ्टेड पास दिइन् । यसपालि पूर्णिमाले बक्स बाहिर आएकी पेमालाई छक्याउँदै सहज गोल गरिन् ।
पाँच मिनेटपछि समीक्षासँगै मैदान प्रवेश गरेकी स्ट्राइकर मीना देउवाको पासमा पूर्णिमाले व्यक्तिगत चौथो गोल गरिन् ।
नेपालले आफ्नो दोस्रो खेलमा आइतबार आयोजक बंगलादेशको सामना गर्नेछ । बंगलादेशले शुक्रबार उद्घाटन खेलमा श्रीलंकालाई ९–१ ले पराजित गरेको थियो । चार टोलीको सहभागिता रहको प्रतियोगितामा डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।