काठमाडौं । नेपाली महिला फुटबलरद्धय रक्षक सविना चौधरी र मिडफिल्डर अञ्जली चन्द थिम्पु सिटी एफसीमा अनुबन्धित भएका छन् ।
भुटानी राष्ट्रिय महिला लिगका बाँकी खेलका लागि थिम्पुले सवीना र अञ्जलीलाई क्लबमा भित्र्याएको हो । थिम्पु हाल अंकतालिको चौथो स्थानमा छ । यी दुईको सम्झौता अक्टोबर महिनासम्मको लागि रहेको बताइएको छ ।
‘सविना र अञ्जलीलाई व्यावसायिक करिअरमा साथ दिन पाउँदा खुसी छु,’ फुटबल एजेन्ट नवीन चित्रकारले भने, ‘आशा गर्छु भुटानमा यी खेलाडीले राम्रो प्रदर्शन गर्नेछ ।’
सविना र अञ्जली राष्ट्रिय महिला टोलीको तल्लो र माथिल्लो उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका खेलाडी हुन् । सविनाले सिनियर टोलीको पनि जर्सी लगाइसकेकी छन् । सन् २०२४ मा साउदी अरबियामा भएको वाफ महिला च्याम्पियनसिपमा सवीनाले डेब्युको अवसर प्राप्त गरेकी थिइन् ।
गत वर्षको माघ महिनामा सम्पन्न एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा अञ्जलीले बागमती युवा क्लबबाट खेलेकी थिइन् । पहिलो चरणमा सविना चन्द्रपुर नगरपालिकाको प्रमुख खेलाडी थिइन् ।
लिगमा नेपाली राष्ट्रिय टोलीकी रक्षक पूजा राना, युवा मिडफिल्डर विर्सना चौधरी र विंगर सम्झना लावतीले ट्रान्सपोर्ट युनाइटेडबाट खेलिरहेका छन् ।