काठमाडौं । –पद्मकृष्ण श्रेष्ठ
मैले वास्तविकको बल प्रयोग गरेर फुटबल खेल्न थालेको ११/१२ वर्षको हुँदा हो । म ७ कक्षामा पढ्दै थिएँ, टोलको टिममा परिहालें । त्यति बेला पाटनमा टोल–टोलको खेल हुन्थ्यो । सुरुमा मैले फुटबल बुट प्रयोग गरेर भने खेलिनँ । नाङ्गै खुट्टा खेलें । बाँसको पोल राखेर नै फुटबल खेलेका थियौं । एउटा घटना खुबै रमाइलो छ । एउटा खेलमा हामी एक गोलले अगाडि थियौं, हाम्रै खेलाडीले प्रहार गरेको बल क्रसबारमा लाग्यो र त्यो भाँचियो । त्यसपछि के चाहियो र ? झगडा सुरु भइहाल्यो । हामीले गोल भयो भन्यौं । किनभने बल बनाइएको पोलभित्र गएको थियो ।
विपक्षी टिमले गोल भएन भन्यो । त्यो खासमा बाजी खेल थियो । त्यो थियो, विजेता टिमका प्रत्येक खेलाडीलाई हारेको टिमका खेलाडीले दुई–दुई टुक्रा बरफ ख्वाउने । त्यति बेला कसैको पनि घरमा फ्रिज भन्ने हुन्नथ्यो । त्यसैले एक टुक्रा ‘आइस’ को पनि ठूलो महत्व थियो । हामी त्यसलाई बरफ भन्थ्यौं । त्यसैले त्यो खेल बरफ बाजीको थियो । बजारमा त्यस्तो बरफ भने किन्न पाइन्थ्यो, थर्मसमा राखेर बेच्न ल्याइन्थ्यो । जसले दुई टुक्रा बरफ खान पायो, त्यसको सान नै बेग्लै हुने गथ्र्यो । अब त्यो खेलमा झगडा भएपछि कसैले बरफ खान पाएनन् । बरफ बेच्न ल्याउने पनि व्यापार भएन ।
हाम्रो टिमको नाम थियो, महापाल । विपक्षी टिम थियो, गाबहाल । यो दुई छिमेकी टोलबीचको खेल थियो । जर्सी भने थिएन । खेलाडीको नम्बर हुने त चलन नै भएन । एक दुई जनाले बुट लगाएर पनि खेल्थे, ती सिनियर खेलाडी हुन्थे । हाम्रो महापाल टिमलाई मित्र पुस्तकालय टिम भनिन्थ्यो । त्यस टिममा जुनियर खेलाडीकै बढी बाहुल्य थियो । राम्रा खेलाडी पनि थिए । छिमेकी टोलबाट पनि खेलाडी झिकाउने काम हुन्थ्यो । त्यति बेला प्रयोग हुने बललाई हामी सबैले ‘पाँच नम्बरको बल’ भन्थ्यौं । म प्रायः राइट–इनको भूमिकामा खेल्थें, राइट–आउट भएर पनि खेलें ।
हामी जुनियर खेलाडीसँग खेल्न ढंगको बल भने थिएन । हामी फुटबल खेल्ने लगनखेलमा पुलिस र आर्मीको ब्यारेक थियो । टेन्ट मात्र राखिएको हुन्थ्यो । सर्वसाधारण सजिलै त्यहाँ जान सक्थे । पुलिससँग बल माग्दा हामीलाई दिन्थ्यो र हामी त्यसैबाट फुटबल खेल्थ्यौं । खेलपछि फिर्ता पनि दिनुपथ्र्यो । एकपल्ट हामीबीच के सल्लाह भयो भने अब एउटा बल आफैले किन्ने । सबैले चन्दा दिए, ५-५ पैसा । १०-१० पैसा । बल एउटाको ५/६ रुपैयाँ जति पथ्र्यो । यसरी हामी एउटा बल किन्न सफल भयौं, एक दुई दिन खेल्यौं पनि ।
अहिले साझा कम्प्लेक्स रहेको मैदानमा हामी खेल्थ्यौं । सानो ठिक्कको मैदान थियो । त्यहाँ एक दुई दिन खेलेपछि झगडा भयो । बल आएपछि राम्रा खेलाडीले मात्र खेल्न पाए । ठिक्कका खेलाडीले पनि खेल्न पाएनन् । त्यसैले विवाद सुरु भयो । अन्त्यमा एउटा निर्णय भयो, त्यो बललाई चिरेर आ–आफ्नो भाग लिने । साँच्चै बललाई टुक्रा टुक्रा पारेर बाँडेर लियौं । यसरी हाम्रो पहिलो बलको अस्तित्व रहेन । हाम्रा लागि त्यो खुबै भावनात्मक क्षण पनि रह्यो । त्यति बेलाको हाम्रो फुटबल यस्तो थियो, यस्तो वातावरणमा हुर्केबढेका थियौं ।