काठमाडौं । लिग लिडर नेपाल पुलिस क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा आइतबार मनाङ मर्स्याङदी क्लबविरुद्ध ५-० को सानदार जित दर्ता गरेको छ ।
जितसँगै शीर्षस्थानको पुलिसले २० खेलमा ४५ अंक जोडेको छ । पराजित मनाङ समान खेलबाट २५ अंकका साथ आठौं स्थानमा छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा पुलिसलाई जित दिलाउन रञ्जित लामा र सुवास बमले समान दुई तथा आदित्य ढुंगेलले एक गोल गरे ।
खेलको ११औं मिनेटमा रञ्जितको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । ५४औं मिनेटमा आदित्यले टोलीको अग्रता दोब्बर बनाए ।
रिञ्जतले ७८औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । इन्जुरी समयमा सुवासले दुई गोल गर्दै पुलिसलाई ५-० को सानदार जित दिलाए ।
आइतबारै सम्पन्न पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले जावलाखेल युथ क्लबविरुद्ध ५-२ को जित निकाल्यो ।