बिर्तामोड । प्रथम झापा कपको उपाधिका लागि सोमबार चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) प्रतिस्पर्धा गदैछन् ।
फाइनलअघि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् ।
चर्च ब्वाइज र १० दिनपछि पुनः उपाधिका लागि भिड्दै छन् । इलाम गोल्डकपपछि उनीहरु झापा कपको फाइनलमा खेल्दै छन् ।
मंसिर अन्तिम साता भएको इलाम गोल्डकपमा भने चर्च ब्वाइजलाई ३-० ले पराजित गर्दै एनआरटी च्याम्पियन बनेको थियो ।
चर्च ब्वाइजले पहिलो चरणमा गोर्खा ब्वाइज स्पोर्टस क्लब तथा सेमिफाइनलमा सिरहाको सलहेश फुटबल क्लबलाई पराजित गरेको थियो ।
यता एनआरटीले पहिलो चरणमा चित्लाङ फुटबल क्लब तथा इटहरीको राष्ट्रिय जागृतिलाई निरास बनाएको छ ।
चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले उपाधि जित्ने दाबी गरे । सेमिफाइनलमा बेन्चमा रहेका अनन्त तामाङ प्लेइङ-११ मा रहने प्रशिक्षक श्रेष्ठले बताए । इलामको हारको बदला लिनेगरी खेल खेल्ने उनको भनाइ थियो ।
एनआरटीका प्रशिक्षक जीवन सिंकेमानाले पनि उपाधि आफ्नो टिमले जित्नेमा विश्वस्थ रहेको प्रतिक्रिया दिए । आफ्नो टिम सन्तुलित रहेको र खेलाडी युवा तथा एकताबद्ध रहेको प्रशिक्षक सिंकेमानाले बताए ।
प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने आयोजक झापा- ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।