काठमाडौं । अग्रता जोगाउन नसक्दा पोर्चुगल युइएफए नेसन्स लिगमा सोमबार घरेलु टोली क्रोएसियासँग १-१ को बराबरीमा रोकिएको छ ।
यो नतिजासँगै ६ खेलमा १४ अंक जोडेर लिग ‘ए’ समूह-१ को शीर्षस्थानमा रहेको पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समान खेलबाट आठ अंकका साथ दोस्रो स्थानमा रहेको क्रोएसियाले पनि क्वार्टरफाइनलको यात्रा तय गरेको छ ।
पोल्जुड रंगशालामा पोर्चुगलका लागि जोआओ फेलिक्स र क्रोएसियाका लागि जेस्को जिभार्डिओलले गोल गरे ।
खेलको ३३ औं मिनेटमा फेलिक्सको गोलमार्फत पोर्चुगलले अग्रता लिएको थियो । उनले भिटिन्हाको पासलाई पोस्टको दिशा दिए ।
जिभार्डिओलले ६५औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले क्रिस्टिजन जाकिकको पासलाई सदुपयोग गरे । त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने ।
यही समूहको अर्को खेलमा स्कटल्यान्डले पोल्यान्डविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गर्यो ।