काठमाडौं । अन्तिम समय सम्हालिन नसक्दा खुमलटार ललित स्मृति एन्फा यु–१८ युथ लिग अन्तर्गत आर्मीविरुद्ध स्पष्ट तीन अंक प्राप्त गर्नबाट बन्चित भएको छ ।
निर्धारित ९० मिनेटसम्म १–० को अग्रता लिएको खुमलटारले इन्जुरी समयमा गोल खान पुगेको हो ।
बराबरीसँगै पुछारमा रहेको खुमलटारले अंक बढाउने अवसर गुमायो । १० खेल सकिँदा खुमलटारले मात्र चार अंक जोडेको छ । पछिल्लो खेलमा सातदोबाटो युवा क्लबमाथि ४–० को फराकिलो जित हासिल गरेको आर्मीले सोही लयलाई खुमलटारविरुद्ध दोहोराउन सकेन ।
सोमबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा खुमलटारले ८७औं मिनेटमा सागर तामाङको गोलमार्फत अग्रता लिएको थियो । तर, इन्जुरी समयमा भुवन कामीले आर्मीका लागि बराबरी गोल फर्काए ।
दिनको पहिलो खेलमा चर्च ब्वाइज युनाइटेड र मनाङ मस्र्याङ्दीले पनि अंक बाँडेका थिए ।
बराबरीसँगै मनाङ १० खेलमा १९ अंक जोड्दै दोस्रो स्थानमा उक्लियो । नतिजाले चर्च ब्वाइज पनि १४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिन सफल भयो ।