काठमाडौं । मनाङ मस्र्याङ्दी क्लब ललित स्मृति एन्फा यु-१८ युथ लिग अन्तर्गत शीर्ष स्थानको नेपाल पुलिस क्लबसँग अंक दूरी घटाउने अवसरबाट चुकेको छ ।
सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा चर्च ब्वाइज युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएपछि मनाङले दुई अंक गुमायो । जसले गर्दा मनाङ पुलिससँगको दूरी घटाउने अवसरबाट चुकेको हो ।
बराबरीसँगै मनाङ १० खेलमा १९ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको पुलिसभन्दा मनाङ चार अंकले पछाडि छ । आइतबार पुलिसले एनआरटीविरुद्ध ४-२ को हार बेहोरेको थियो । जारी लिगमा पुलिसको यो पहिलो हार हो । त्यसैले मनाङसँग अंक दूरी घटाउनले सुनौलो अवसर थियो ।
उता चर्च ब्वाइजले पनि पाँचौं स्थानमा उक्लिने अवसर गुमायो । यस नतिजासँगै चर्च ब्वाइज १४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।
सोमबार दिनको दोस्रो खेलमा खुमलटार एफसीले विभागीय टोली त्रिभुवन आर्मीसँग खेल्दैछ । खुमलटार तालिकाको पुछारमा छ । आर्मी भने पुछारबाट तेस्रो स्थानमा छ । खेल ३ बजे सुरु हुनेछ ।