काठमाडौं । जावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा आइतबार सातदोबाटो युथ क्लबविरुद्ध ४-१ को सहज जित दर्ता गरेको छ ।
जितसँगै १० खेलमा १४ अंक जोडेको जावलाखेल छैटौं स्थानमा उक्लिएको छ । पराजित सातदोबाटो समान खेलबाट चार अंकका साथ ११औं स्थानमा छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा जावलाखेललाई जित दिलाउन कप्तान धर्वेन्द्र कुँवरले ह्याट्रिक पूरा गर्दा एक गोल प्रशान्त तामाङको नाममा रह्यो । सातदोबाटोका लागि निसप्रकाश बरालले एक गोल गरे ।
खेलको ३८औं मिनेटमा निसप्रकाशको गोलमार्फत सादोबाटोले अग्रता लिएको थियो । पहिलो हाफमा पछि परे पनि जावला खेलले दोस्रो हाफमा चार गोल गर्यो ।
धर्वेन्द्रले ५०औं मिनेटमा गोल गर्दै जावलाखेललाई बराबरीमा ल्याए । पाँच मिनेटपछि नै प्रशान्तले गोल गर्दा जावलाखेल २-१ ले अगाडि बढ्यो ।
धर्वेन्द्रले ६९औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा धर्वेन्द्रले ह्याट्रिक पूरा गर्दै जावलाखेललाई ४-१ को सहज जित दिलाए ।
लिगअन्तर्गत आइतबारै सम्पन्न पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले नेपाल पुलिस क्लबविरुद्ध ४-२ को सहज जित दर्ता गरेको थियो ।