काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व अन्तरिम मुख्य प्रशिक्षक रुद भान निसलरोयले क्लबबाट छुट्टिनु परेकोमा दुःख पोखेका छन् ।
नवनियुक्त प्रशिक्षक रुवेन अमोरिमको योजनामा नपरेका भान निसलरोय क्लबबाट टाढिनु पर्दा दुखित भएका हुन् ।
म्यानचेस्टर युनाइटेडले तीन साताअघि पूर्व डच प्रशिक्षक एरिक टेन हागलाई बर्खास्त गरेको थियो । टेन हाग बर्खास्तगीमा परेपछि युनाइटेड प्रशिक्षकविहीन थियो । टेन हागलाई जिम्मेवारीबाट हटाएको दुई हप्तापछि क्लबले पोर्चुगिज अमोरिमलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको थियो । यो दुई हप्ताको अवधिमा सहायक प्रशिक्षक भान निसलरोयले चार खेलमा नेतृत्व सम्हालेका थिए ।
यी चार खेलमा युनाइटेड अपराजित रह्यो । तीन खेलमा जित हासिल गरेको युनाइटेडले भान निसलरोयको नेतृत्वमा एक खेल बराबरी खेल्यो ।
अहिले विश्व फुटबलमा अन्तर्राष्ट्रिय ब्रेक चलिरहेको छ । यो ब्रेकपछि अमोरिमले युनाइटेड हाँक्नेछन् । भान निसलरोय अमोरिमको सहायक प्रशिक्षक बनेर युनाइटेडको जिम्मेवारीलाई निरन्तरता दिन चाहन्थे । तर, स्पोर्टिङ एफसीका पूर्व प्रशिक्षक अमोरिम आफ्नै सहयात्रीहरुलाई युनाइटेड ल्याउन चाहन्छन् । जसले गर्दा भान निसलरोयले क्लब छोड्नु परेको हो ।
नेदरल्यान्ड्सका पूर्व रक्षक आन्द्रे ओइएरले आफ्ना समकालिन साथी भान निसलरोयले पछिल्लो घटनाक्रमप्रति दुखेसो प्रकट गरेको खुलासा गरेका हुन् । ‘युनाइटेड भान निसलरोयको प्रिय क्लब हो । उसले यही क्लबमा रहन विभिन्न प्रस्तावहरुलाई अस्विकार गरिरहेका थिए । आज उ दुःखी छ,’ घरेलु क्लब पिएसभी आइनदोभेनमा भान निसलरोयसँगै काम गरेका ओइएरेले भने ।