काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले रिक्त रहेको पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारीका लागि आवेदन खुलाएको छ ।
एन्फाले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत विज्ञापन सार्वजनिक गरेको हो ।
एन्फाले सार्वजनिक गरेको विज्ञापन अनुसार आवेदकले मुख्य प्रशिक्षकमा आफ्नो दावेदारी पेश गर्न केही मापदण्डहरु पूरा गर्नुपर्नेछ ।
आवेदकसँग एएफसीको प्रो लाइसेन्स भएको हुनुपर्नेछ । त्यस्तै एन्फाले आवेदकसँग सिनियर राष्ट्रिय टोली अथवा व्यावसायिक फुटबलमा ५-१० वर्षको अनुभव रहनुपर्ने मापदण्ड समेत तोकेको छ ।
आवेदकले विज्ञापन प्रकाशन मितिबाट १५ दिन अर्थात ३० सेप्टेम्बरसम्म अनलाइनमार्फत आवेदन भर्न सक्नेछन् ।
गत भाद्र १३ गते बसेको आठौं एन्फा कार्यसमिति बैठकले निवर्तमान प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण नगर्ने र नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको थियो ।
एनेसको सम्झौता गत जेठ अन्तिममा सकिएको थियो । एनेस २०७९ साल फागुन १७ गते नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । उनलाई सुरुमा एन्फाले मात्र एक वर्षका लागि नियुक्त गरेको थियो । तर, फिफा विश्वकप र एसियन कपको प्रारम्भिक दोस्रो चरण खेलहरु बाँकी रहेको अवस्थामा एन्फाले एनेसको कार्यकाल साढे ३ महिना थप्ने निर्णय गरेको थियो ।