काठमाडौं । फिफा विश्वकप २०२६ छनोट तथा एसियन कप छनोट अन्तर्गत युएईसँग दशरथ रंगशालामा हुने खेलमा आशंका बढेको छ ।
एसियाली फुटबल महासंघ( एएफसी) ले रंगशालाको अवस्थालाई लिएर प्रश्न उठाएपछि नेपालले घरेलु मैदानमा खेल्न नपाउने सम्भावना बढेको हो ।
नेपालले जेठ २४ मा युएईसँग खेल्ने तालिका छ। एफसीले प्रारम्भिक चरणमा मैदानकाे पिच, फ्लड लाइट र सुरक्षाकाे विषयमा प्रश्न उठाएको छ ।
‘प्रारम्भिक चरणमा छलफल भएको थियो । एएफसीले तीन कुरामा प्रश्न उठाएको छ । हामी राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एएफसीसँग सहकार्य गर्दै प्रतियोगिता दशरथ रंगशालामै गर्ने प्रयासमा छौं,’ एन्फा प्रवक्ता सुरेश शाहले खलाडी डटकमसँग भने ।
यसअघि पनि दशरथ रंगशाला खेल्न लायक नहुँदा नेपालले बहराइनविरुद्धको दुवै खेल बहराइमै खेलेको थियो । त्यसपछि राखेपले एन्फाबाट मैदान हेरचाहको जिम्मेवारी खोसेको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त फुटबल मैदान दशरथ रंगशाला मात्रै हो । एएफसीको गम्भिर ध्यानकर्षणपछि रंगशालाको अन्तिर्राष्ट्रिय मान्यता गुम्ने खतरा पनि बढेको छ ।