काठमाडौं । घरेलु फुटबलको शीर्ष डिभिजन सहिद स्मारक ‘ए’ डिभिजन लिग अर्को वर्ष मात्र आयोजना हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फां को सोमबार बसेको साधारण सभाले अर्को वर्षको क्यालेन्डर पारित गरेको एन्फा प्रवक्ता सुरेश शाहले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
एन्फाले सार्वजनिक गरेको क्यालेन्डर अनुसार ‘ए’ डिभिजन लिग अर्को वर्षको पुस १२ देखि २०८२ जेठ १५ गतेसम्म सञ्चालन हुनेछ । डबल राउन्ड रोविन लिगका आधारमा हुने लिगमा शुक्रबार, शनिबार र आइतबार समान दुई खेल खेलाइने उल्लेख छ ।
एन्फाले ‘बी’ र ‘सी’ डिभिजन लिग अर्को महिनाबाट गर्ने योजना बनाएको छ । क्यालेन्डर अनुसार ‘सी’ डिभिजन लिग चैत २२ गते र ‘बी’ डिभिजन लिग चैत २५ गतेबाट सुरु हुनेछ ।
एन्फाले अर्को वर्ष एन्फा यु-१६ युथ लिग, जिल्ला लिग, यु-२१ फुटसल, यु-१५ छात्रा छात्र फुटबल, ग्रास रुट लिग, प्रदेश लिग, एन्फा प्रेसिडेन्ट लिग, ललित स्मृति यु-१८ युथ लिग र यु-१८ महिला युथ लिग, ए डिभिजन फुटसल लिग आयोजना गर्ने भएको छ ।
यसैगरी एन्फाले महिला लिग दुई चरणमा गर्ने गरी क्यालेन्डर तयार पारेको छ । पछिल्लो दुई वर्ष एन्फाले महिला फुटबलमा कुनै प्रतियोगिता गरेको छैन ।
प्रवक्ता शाहले साधारण सभाले २०७९/८० को आयव्यय विवरण र २०८०/८१ आर्थिक वर्षका लागि ६७ करोड ६७ लाख ६६ हजार ६० रुपैयाँको अनुमानित बजेट पास गरेको बताए ।
कार्यसमितिको २१ मध्ये १३ सदस्य उपस्थित नभए पनि सोमबार बसेको नियमित साधारण सभाले प्रस्तावित सबै विषयलाई पास गरेको थियो ।
एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित पदाधिकारी, सदस्य १० जना र १३ बी डिभिजन लिग क्लब र गोर्खा जिल्लाले बहिष्कार गरेको साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।
केन्द्रिय कार्यसमितिले पास गरेको भन्दा बाहेकका विषयलाई साधारण सभाको विषय सुचिमा समावेश गरेको भन्दै केन्द्रिय समितिका १० जनाले वहिष्कार गरेका थिए । बी डिभिजन लिगका क्लब भने यसपटकको साधारण सभाको प्रतिनिधि छनोटबाटै नै सहभागी भएन । गोर्खा जिल्लाका प्रतिनिधि अनिल खत्रीले साधारणसभा बहिस्कार गरेका थिए ।
एन्फाका १०५ सदस्य संस्थाका मताधिकार प्राप्त ७७ मध्ये ७४ साधारणसभामा उपस्थित भएको शाहले बताएका थिए ।