काठमाडौं । दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता माघ २९ देखि फागुन २४ गतेसम्म हुने भएको छ । मंगलबार एक कार्यक्रमबीच आयोजक मध्यपुर युथ एसोसियनले प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।
राउन्ड रोबिन पद्धत्तिमा खेलाइने प्रतियोगितामा नगरपालिका भित्र रहेका ९ वडाको सहभागिता रहने छ । कुल ३६ खेल हुने प्रतियोगितामा प्रत्येक वडाले आठ खेल खेल्नेछन् ।
प्रतियोगितामा प्रथम हुने वडाले नगद २ लाख ५० हजार रुपैँया प्राप्त गर्नेछ । त्यस्तै दोस्रो स्थानमा रहने वडाले १ लाख २५ हजार र तेस्रो हुनेले ६० हजार रुपैंया प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचलाई ट्रफी प्रदान गरिनेछ भने प्रतियोगिताको व्यक्तिगत पुरस्कार विजेताले जनही १० हजार रुपैंया पाउनेछन् । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार र अनुशासित टोलीले २५ हजार रुपैंया प्राप्त गर्नेछन् ।
प्रतियोगिताको अनुमानित बजेट नगद २८ लाख २४ हजार रहेको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि नगरपालिकाले नगद २५ लाख रुपैंया प्रायोजन गर्नेछ ।