रोबिन्सनमाथिको निलम्बनमा पुनर्विचार गर्न बेलायती प्रधानमन्त्रीको आग्रह

लन्डन, (खेलाडी)– इङ्ल्यान्डका बलर ओली रोबिन्सनको निलम्बनको निर्णयमा पुनर्विचार गर्नथि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इङ्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डलाई आह्‍वान गरेको बताइएको छ । संस्कृती तथा खेलकुद विभागका सचिव ओलीभर डोउडेनले रोबिन्सनको निलम्बन निर्णय पुनर्विचार गर्ने आफ्नो प्रस्ताबमा प्रधानमन्त्री जोनसनले सहमती जनाएको बताए । 

रोबिन्सनले २०१२ र २०१३ मा गरेको जातीवादी र यौनवादी ट्विटलाई लिएर इङ्ल्यान्ड क्रिकेट बोर्डले उनलाई निलम्बन गरेको थियो । तर संस्कृती तथा खेलकुद सचिव डोउडेनले युवा अवस्थामा गरेको ट्विटलाई लिएर अहिले निलम्बनको कार्वाही गर्नु ठिक नहुने विचार राख्दै क्रिकेट बोर्डसमक्ष त्यस निर्णयबारे पूर्नविचार गर्न सुझाव दिएका थिए । 

डोउडेनले ट्विटमा लेखेका छन्, ‘रोबिन्सनको ट्विट आपत्तिजनक र गलत छ । त्यो उनले दशकअघि युवा उमेरमा गरेका थिए । अहिले उनी युवाबाट वयस्क भइसकेका छन् र उनले माफी पनि मागीसकेका छन् । त्यसैले इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले उनीमाथि गरेको निलम्बनबारे पूर्नविचार गर्नुपर्छ ।’

रोविन्सनको १८ र १९ वर्षको उमेरमा गरेको ट्विट विवादमा आएपछि इङ्ल्यान्डले २७ वर्षे राबिन्सनलाई न्युजिल्यान्डविरुद्धको दोस्रो टेष्‍टको लागि घोषित टिमबाट हटाएको छ । रोबिन्सनले लर्ड्समा सम्पन्‍न न्युजिल्यान्डविरुद्धको पहिलो खेलबाट टेष्‍ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । पहिलो टेष्‍टमा उनले १०१ रन दिएर सात विकेट लिएका थिए भने ४२ रन बनाएका थिए ।