काठमाडौं । प्रधानमन्त्री कप गण्डकी प्रदेश स्तरीय छनोट प्रतियोगिताको फाइनलमा कास्कीले नवलपुरलाई ४८ रनले पराजित गर्दै च्याम्पियन बनेको छ ।
पीएम कप छनौट एक दिवशिय क्रिकेटमा कास्की लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा मंगलबार पोखरामा सम्पन्न खेलमा कास्कीले टस जितेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २४० रन बनायो । २४१ रनको लक्ष्य पछ्याएको नवलपुर ४३ दशमलब २ ओभरमा अलआउट हुँदै १९२ रनमै समेटियो ।
कास्कीको जितमा अर्जुन कुमाल नायक बने । उनले १३१ बलमा १११ रनको उत्कृष्ट सतकीय इनिङ खेल्दै टोलीलाई बलियो स्थितिमा पुर्याए । उनको इनिङमा ९ चौका र १ छक्का समावेश थियो ।
कास्कीको सुरुवात भने कमजोर रह्यो। मुस्कान थापा १६, अंकित गजुरेल ४, सिब्रिन श्रेष्ठ ७ र रोहित चन्द ८ रनमा आउट हुँदा टोली दबाबमा परेको थियो। त्यसपछि अर्जुन कुमाल र सुभाष भण्डारीले पाँचौं विकेटका लागि ९७ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ सम्हाले ।
सुभाष भण्डारीले ५३ बलमा ४२ रन बनाए । अन्तिम समयमा कृष्ण पौडेलले आक्रामक ब्याटिङ गर्दै १४ बलमा २७ रन जोड्दा टोलीको स्कोर प्रतिस्पर्धात्मक बनेको थियो। कप्तान बिपिन खत्री भने २ रनमै आउट भए ।
बलिङतर्फ नवलपुरका अपराजित पौडेल र कमल परियारले समान २–२ विकेट लिए भने मुन्ना नेपाली र सुदीप अर्यालले १–१ विकेट हात पारे ।
जवाफमा नवलपुरले सन्तोषजनक सुरुवात गरे पनि ठूलो साझेदारी गर्न सकेन। गौरव विश्वकर्माले २६ र अनिश गुरुङले १५ रन बनाए। दीपक डुम्रेले ३६ रनको योगदान दिए पनि अन्य ब्याटर टिक्न नसक्दा टोली दबाबमा परेको थियो ।
कप्तान कमल परियारले २९ बलमा ३८ रनको संघर्षपूर्ण इनिङ खेले पनि अन्य ब्याटरबाट साथ नपाउँदा त्यो प्रयास जितका लागि पर्याप्त हुन सकेन। बिग्यान पाण्डेले २६ तथा मुन्ना नेपालीले १५ रन बनाए ।
कास्कीका लागि कृष्ण पौडेल सबैभन्दा सफल बलर सावित भए। उनले ९ ओभरमा ४ विकेट लिँदै नवलपुरको इनिङ ध्वस्त पारे। बिपिन खत्री र सुभाष भण्डारीले समान २–२ विकेट लिए भने सिब्रिन श्रेष्ठले १ विकेट हात पारे ।
प्रतियोगितामा प्लेयर अफ दि सिरिज कास्की अर्जुन कुमाल बने । उनी उत्कृष्ट व्याटर समेत घोषित भए । अर्जुनले प्रतियोगितामा दुई सतकसहित ३२७ रन बनाए । यस्तै कास्कीका विपिन खत्री उत्कृष्ट बलर बने । उनले कुल १२ विकेट लिएका थिए ।
