काठमाडौं । रियाल मड्रिड, पिएसजी र आर्सनल युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति जित निकाल्दै ला लिगा, फ्रेन्च लिग र इङ्लिस क्लबका समान एक एक टिम अन्तिम ८ मा प्रवेश गरे ।
इङ्लिस दुई क्लब चेल्सी र म्यानचेष्टर सिटीको उपाधि जित्ने सम्भावना सकिएको छ । यता, जर्मन क्लब बायर लेभरकुसेन पनि अन्तिम १६ बाट माथि बढ्न सकेन ।
रियालले म्यानचेष्टर सिटीलाई २–१ ले हरायो । समग्रमा टिम ५–१ ले विजयी भएको हो । पहिलो लेगमा रियाल घरेलु मैदानमै ३–० को जित निकाल्न सफल भयो ।
दोस्रो लेग इत्तिहाद मैदानमा हुँदा पनि रियाल नै हाबी भयो । १० खेलाडीमा सिमित भएपछि घरेलु टोली दबाबमा आएको थियो । बर्नान्डो सिल्भाले २०औं मिनेटमै रातो कार्ड बेहोरेपछि सिटी १० खेलाडीमा सिमित भएको थियो ।
रियालको जितमा दुबै गोल भिनिसियस जुनियरले गरेका थिए । एर्लिङ हाल्यान्डले मात्र एक गोल गरे ।
यता, चेल्सीविरुद्ध पिएसजी समग्रमा ८–२ ले विजयी भयो । दोस्रो लेगमा पनि पिएसजी ३–० को जित निकाल्न सफल भयो । पहिलो लेगमा ५–२ को जित निकालेको थियो । चेल्सीको घरेलु मैदान स्टाफोर्ड ब्रिजमा पिएसजीले पहिलो हाफमै दुई गोल गरेको थियो ।
पिएसजीको जितमा सेनी मायुलु, ब्राड्ली बारकोला र ख्भिचा क्वारात्स्खेलियाले समान एक गोल गरेका थिए ।
यता, दुई इङ्लिस क्लब अन्तिम १६ बाट बाहिरिँदा आर्सनल भने अघिल्लो चरणमा स्थान बनाउन सफल भयो । उसले जर्मन क्लब बायरलाई समग्रमा ३–१ ले पराजित गर्याे । दोस्रो लेगमा भने आर्सनल २–० ले विजयी भएको छ ।
आर्सनलको जितमा इबेरेची इजे र डिक्लेन राइसले समान एक गोल गरेका थिए ।
