काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईको ‘एजुकेशन पार्टनर’ प्रेसिडेन्सियल ग्राजुएट स्कुलले कूल चौका र छक्काका आधारमा कफीका विरुवा रोप्ने घोषणा गरेको छ ।
कलेजका अनुसार यो सिजन प्रहार भएका हरेक चौकामा चार र छक्कामा ६ वटा कफीका बिरुवा रोप्ने निर्णय गरिएको हो ।
‘कफी खेतीले स्थानीय अर्थतन्त्र बलियो बनाउन, रोजगार सिर्जना गर्न तथा ग्रामीण समुदायसँग कलेजको सहकार्य थप सुदृढ बनाउन मद्दत गर्नेछ,’ कलेजका अध्यक्ष लक्ष्मण केसीले बताए ।
रोपाइँका लागि स्थान भने निश्चित गरिएको छैन । उपयुक्त भूभाग पहिचानका लागि मूल्यांकन कार्य जारी रहेको कलेजले जनाएको छ ।
कलेजका अनुसार शैक्षिक संस्था कक्षा कक्षाभित्रको अध्यापनमै सीमित नभई ग्रामीण विकास तथा स्थानीय उत्पादन प्रवद्र्धनमा पनि सक्रिय हुनुपर्छ भन्ने मान्यताबाट यो अभियान सुरु गरिएको हो । कफी खेतीमार्फत ग्रामीण कृषकलाई प्रत्यक्ष सहयोग, तालिम तथा सम्भावित बजार पहुँच उपलब्ध गराउने योजना समेत कलेजले ल्याएको छ ।
प्रेसिडेन्सियल ग्राजुएट स्कुलले गत वर्ष काठमाडौं उपत्यकाका विभिन्न स्थानमा एघार सय थरीका बिरुवा रोपेको थियो । त्यो समयमा हरेक चौकामा एक र छक्कामा दुईवटा विरुवा रोपिने दर कायम गरिएको थियो ।
अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त थापागाउँ, बानेश्वरस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलले पछिल्लो १५ वर्षदेखि व्यवस्थापन र पाँच वर्षदेखि आइटी संकायमा स्नातक तथा स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दै आएको छ ।
