काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपमा भारतको इस्ट बङ्गाल एफसीले लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार इस्ट बङ्गालले आफ्नो दोस्रो खेलमा पाकितानको कँराची सिटी फुटबल क्लबलाई २–० ले हरायो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा इस्ट बङ्गाललाई जित दिलाउन सुलन्जना राउल र रेस्टी नन्जारीले गोल गरे । खेल सुरु भएको सुरुआती पाँच मिनेटमा अग्रता लिएको इस्ट बङ्गालले दोस्रो हाफको चौंथो मिनेटमा अर्को गोल गर्यो ।

पहिलो खेलमा इस्ट बङ्गालले भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसीको चुनौती ४-० ले पन्छाएको थियो । यो जितसँगै ६ अंक जोड्दै इस्ट बङ्गाल हालका लागि अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
कँराचीको यो तेस्रो खेल हो । यसअघि कँराचीले ट्रान्सपोर्ट र बंगलादेशको नासरिन स्पोर्टस एकेडेमीसँग गोलरहित बराबरी खेलेको थियो ।
दिनको दोस्रो खेलमा नेपाल एपिएफ क्लब र ट्रान्सपोर्ट एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् ।
