काठमाडौं । शनिबार सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको सनसनीपूर्ण जित हासिल गर्दै विराटनगर किंग्सले क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गरेको थियो । सुदूरपश्चिमले भने त्यसअघि नै क्वालिफायरमा स्थान पक्का गरिसकेको थियो । मंगलबार यिनै दुई टोली फेरि एकपटक आमने-सामने हुँदैछन् । यसपाली प्रतिस्पर्धा, फाइनल प्रवेशका लागि हुनेछ । खेल दिउँसो ४ बजे हुनेछ ।
ओभरसिजन ओपनरद्धय स्याम हेजलेट र फाफ डुप्लेसीको धुँवादार ब्याटिङका कारण विराटनगर सनसनीपूर्ण जितको हकदार बन्यो । क्वालिफायरमा पुग्न विराटनगरलाई १३.५ ओभरभित्र सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउनु पर्ने चुनौती थियो । तर, विराटनगरले यो कठिन चुनौती दुई ओभर अगाडि नै पूरा गर्यो ।
पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका हेजलेट र डुप्लेसी दुबैले अर्धशतकीय पारी खेले । दोस्रो एनपिएल खेल खेलिरहेका डुप्लेसीले पाँच चौका र चार छक्कासहित १९ बलमा ५० रन पूरा गरेका थियो । पछि उनी खेलको ‘प्लेयर अफ दि म्याच’ पनि चुनिए । पावरप्लेमा मात्र विराटनगरले ८७ रन जोडेको थियो ।

‘हामी क्लियर माइन्डसेटका साथ आएका थियौं । हामी प्लेअफ पुगिसकेका थियौं । त्यसैले हामीसँग आक्रमक रुपमा प्रस्तुत हुनुबाहेकको विकल्प थिएन,’ खेलपछि डुप्लेसीले आक्रमक ब्याटिङका बारेमा बताए ।
सुदूरपश्चिमका लागि प्रतियोगितामा यो पहिलो हार थियो । त्यसअघिका ६ खेलमा रवाफिलो जित हासिल गर्दै आएको सुदूरपश्चिमले यस किसिमको हार आत्मसात गर्ला भन्ने कुरा कल्पना बाहिरको कुरा थियो । यसले सुदूरपश्चिमको ‘विनिङ मोमेन्टम’मा असर त पर्दैन ?
मध्यक्रमका ब्याटर आरिफ शेखले विराटनगरविरुद्धको यो हारले टोलीको मोमेन्टममा कुनै असर नपर्ने दाबी गर्छन् ।

‘हामीले आज केही नयाँ खेलाडीलाई पनि मौका दियौं। नयाँ कम्बिनेसन जाँच गर्यौँ । यसले आउने खेलमा हामीलाई सहयोग गर्नेछ । यो नतिजाले क्वालिफायरमा असर पर्दैन । हामी राम्रो तयारीका साथ आउनेछौं,’ आरिफले भने ।
एनपिएलमा यी दुई तेस्रोपटक प्रतिस्पर्धा गर्दैछन् । गत सिजन सुदूरपश्चिमसँग विराटनगर निरीह बनेको थियो । सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरिको अर्धशतकीय पारीप्रेरित १८३ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो । पछि अविनाश बोहराको सानदार बलिङमा विराटनगर सस्तैमा अलआउट भयो । विराटनगरवे १६.१ ओभरमा सबै विकेट गुमाउँदा मात्र ९२ रन जोड्न सकेको थियो ।
अहिले यिनै अविनाश सर्वाधिक विकेटकर्ताको दौडमा दोस्रो स्थानमा छन् । अविनाशले १४ खेलाडीलाई पवेलियनको बाटो देखाइसकेका छन् । उनीभन्दा एक विकेट बढी लिएका विपक्षी कप्तान सन्दीप लामिछाने शीर्ष स्थानमा छन् । दुबैलाई मंगलबार आफ्नो संख्यालाई बढाउने अवसर छ ।
