काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा लुम्बिनी लायन्सले बिहीबार आफ्नो पहिलो खेल खेल्दैछ । दिउँसो ४ बजे हुने खेलमा लुम्बिनीले यसअघि आफ्नो पहिलो खेलमा जित हसिल गरिसकेको चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ ।
चितवनविरुद्ध मैदानमा उत्रिरहँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल मार्की रहेको लुम्बिनी लायन्स सुखद सुरुआतको दबाबमा हुनेछ ।
पहिलो सिजन लुम्बिनी अंकतालिकाको पुछारमा रह्यो । कूल ७ खेलमध्ये मात्र एकमा जित निकालेको लुम्बिनीले सुरुआती चार खेलमा पराजय बेहोरेको थियो । त्यसैले लुम्बिनी यसपाली जितबाट प्रतियोगिताको सुरुआत गर्न चाहन्छ । हारको लयले निरन्तरता पाउने कुराले लुम्बिनीलाई अवश्य पनि पिरोलेको छ ।
पाँचौं खेलमा लुम्बिनीले चितवनमाथि ३३ रनको सानदार जित हासिल गर्यो । त्यसपछिका तीन खेलमा फेरि नतिजा लुम्बिनीको पक्षमा आएन । त्यही चितवनसँग खेल्दै लुम्बिनीले सिजन २ को सुरुआत गर्नेछ । एकहिसाबमा लुम्बिनीलाई प्रतियोगिताको सुखद सुरुआत गर्ने अवसर पनि हो । कम्तिमा लुम्बिनीलाई चितवनविरुद्ध ‘हेड टु हेड’को डर रहने छैन ।
गत सिजन अंकतालिकाको तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको चितवन बिहीबार लुम्बिनीविरुद्ध अवश्य पनि सतर्क रहनेछ । विशेषगरि कप्तान रोहितसँग । किनभने रोहितले चितवनविरुद्ध एनपिएल सिजन १ कै व्यक्तिगत सानदार प्रदर्शन गरेका थिए । सुरुआती ब्याटिङ गरेको लुम्बिनीका लागि रोहितले ८० रनको पारी खेले । त्यसपछि चार ओभर बलिङमा चार विकेट पनि लिए ।
लुम्बिनीले नयाँ प्रशिक्षकका रूपमा भारतका टिनु योहान्ननलाई नियुक्त गरेको छ । पहिलो सिजनमा भारतकै नन्दन फडनिसले मुख्य प्रशिक्षकको हैसियतमा लुम्बिनीको नेतृत्व गरेका थिए ।

यसपालि भारतकै रोबिन सिंहले मेन्टरका रूपमा टोलीलाई सफलताको बाटोमा डोर्याउने जिम्मेवारी लिएका छन् । गत सिजनको कमजोर उपस्थितिबाट तर्सेका कारण लुम्बिनीले यसपालि फेरि खराब प्रदर्शन नदोहोरियोस भनेर तयारीमा कुनै कसर बाँकी राखेको छैन ।
लुम्बिनीले सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी र अविनाश गौतमलाई दोस्रो सिजनका लागि पनि निरन्तरता दिएको छ ।
टोलीले रिटेन गरे पनि अलराउन्डर विवेकुमार यादव भने यस पटक उपलब्ध हुने छैनन् । उनी चोटको शल्यक्रियापछि आराम गरिहेका छन् । विवेकको स्थानमा सुमित महर्जनलाई भित्र्याइएको छ । गत सिजन सुमितले काठमाडौंबाट खेलेका थिए ।
टोलीले अक्सनबाट दिलीप नाथ, शेर मल्ल, विशाल पटेल, दुर्गेश गुप्ता र आदिल खानलाई अनुबन्ध गरेको थियो ।
६ विदेशी खेलाडी भित्र्याउन पाउने नियम भए पनि लुम्बिनीले अहिलेसम्म चार जनामात्र अन्तर्राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ । विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका डार्सी शर्ट, इटालीका थोमस ड्राका, नामिबियाका जोहानस जोनाथन स्मिथ र अफगानिस्तानका गुलबद्दिन नैबसँग टोलीले सम्झौता गरेको छ ।
पहिलो सिजन तीन अर्धशतकसहित २८६ रन बनाएका रवी भोपाराले चितवनका लागि मंगलबार कर्णाली याक्सविरुद्ध अर्को अर्धशतकीय पारी खेले । यसपाली पनि चितवनको ब्याटिङ उनकै भरमा हुने अनुमान गरिएको छ । कर्णालीविरुद्ध सस्तैमा आउट भएका डेविड मलान र ३८ रन बनाएका सेफ जैब चितवनका प्रमुख खेलाडी हुन् । गत सिजन सुदू्ररपश्चिम रोयल्सबाट खेलेका जैब २७५ रनका साथ सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।
