पुस १४, २०८२ मंगलबार | १७:५१:३०
एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो
शनिबारको दिन

कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै

काठमाडौं । नेपाली क्रिकेटको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजन सुरू हुन दुई दिनमात्र बाँकी छ ।

एनपिएल २ का लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला सिंगार्ने काम युद्धस्तरमा चलिरहेको छ । मैदानमा पहिलो पटक १० हजार दर्शक अटाउने सुविधासम्पन्न प्यारापिट र कुर्सी जडान भइसकेको छ । रातिको समयमा खेल गराउन सकियोस भनेर फ्लडलाइट हाल्ने काम पनि अन्तिम चरणमा छ ।

यो सबै प्रतियोगिताको गत वर्ष सम्पन्न पहिलो सिजनको भव्यताका कारण सम्भव भएको हो । झन्डै १०० करोडको उद्योगका रूपमा एनपिएलको पहिलो सिजन सम्पन्न भएपछि दोस्रो सिजन त्यसको विरासत बोक्दै तयारीमा तल्लीन हुनु स्वाभाविक हो । त्रिवि मैदानको स्तरोन्नति यसैको एउटा पाटो हो । अब यो वर्ष प्रतियोगिता ३०० करोडको उद्योग बन्ने अपेक्षा छ ।

पहिलो संस्करणको सफलता र यसपालिको तयारीले एनपिएलको दोस्रो संस्करणलाई एउटा साझा महोत्सवका रूपमा सम्पन्न गर्ने संकेत देखिएको छ । जसमा स्वाभाविक रूपमा खेलाडी, खेलप्रेमी र अन्य सरोकारवाला रम्ने नै छन् । तर एनपिएलको रौनक यही घेराभित्रमात्र चाहिँ पक्कै सीमित हुने छैन । खेलकुदभन्दा बाहिर रहनेहरूका लागि पनि एनपिएल रोमाञ्चक इभेन्टका रूपमा हुनेछ । मनोरञ्जन क्षेत्र त एनपिएलको भव्यतामा मज्जासँग लुट्पुटिइसकेको छ । मनोरञ्जन उद्योगका स्टारहरूलाई पनि एनपिएलले एउटा बेग्लै खाले उत्साह दिएको छ ।

गायक, कलाकार, साहित्यकार तथा सर्जकहरू विभिन्न किसिमबाट एनपिएलसँग आबद्ध भइरहेका छन् । जसले ब्याट र बलको यो माहोललाई थप रंगीन बनाइरहेको छ ।

पहिलो सिजनको च्याम्पियन जनकपुर बोल्ट्सको टिम एन्थम गत वर्ष नै र्यापर ओडीले गाएका थिए । टोलीले यो सिजन चलचित्रका नायक निखिल उप्रेतीलाई गुडविल एम्बासडर बनाएको छ । गत वर्ष जस्तै यसपालि पनि खेल दौरान कलाकारहरू पक्कै मैदानमै पुगेर जनकपुरको समर्थन गर्नेछन् ।

कर्णाली याक्सकी ब्रान्ड एम्बासडर  नायिका स्वस्तिमा खड्का । 

साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले पहिलो सिजन गायक चक्र बम, टंक तिमल्सिना र गायिका अनिता चलाउनेको आवाजमा आफ्नो टिम गीत निकालेको थियो । टिम एन्थममा जस्तै खेल दौरान रंगशालामा पनि सुदूरपश्चिमलाई साथ दिन कलाकारको बाक्लो उपस्थिति रहन्थ्यो । दोस्रो सिजनमा पनि त्यसको निरन्तरता हुने नै छ । यसपालि त्यसबाहेक पनि सन् २०२० की मिस नेपाल नम्रता श्रेष्ठ होस्टका रूपमा सुदूरपश्चिमसँग जोडिएकी छन् । जसबाट टोली थप ग्ल्यामर्स रूपमा प्रस्तुत हुने अपेक्षा गर्न सकिन्छ ।

कर्णाली याक्सको एन्थम सुजन खनालले गाएका हुन् भने  चर्चित नायिका स्वस्तिमा खड्का ‘फेस अफ कर्णाली याक्स’मा यथावत छिन् । गत वर्ष भ्लगर सिसन बानियाँलाई पनि टोलीले ‘युथ ब्रान्ड एम्बेस्डर’ नियुक्त गरेको थियो ।

लुम्बिनी लायन्स गत वर्ष पहिलो सिजन र्‍यापर भ्योमा र गोकुल घिमिरेले गाएको टिम एन्थममा झुमेको थियो । यसपालि भने टोलीले कवि नवराज पराजुलीको आवाजमा नयाँ टिम एन्थमसँगै ठुम्का लगाउने छ ।

पहिलो सिजन महानायक राजेश हमाल टोलीको ब्रान्ड एम्बासडर थिए । यसपालि उनलाई हास्य कलाकार सुमन कार्कीले स्थानान्तरण गर्नेछन् । कार्की ब्रान्ड आइकनको भूमिकासँगै टिममा जोडिएका छन् । यसबाहेक पनि टिमका विभिन्न कार्यक्रम तथा खेलदौरान स्थानीय कलाकारको साथ लुम्बिनीले पाउने गरेको छ ।

विराटनगर किंग्सका लागि गत वर्ष गायक कुशल पोखरेलले गाएको एन्थमले निकै चर्चा पाएको थियो । टोलीले पूर्वेली कलाकार दयाहाङ राईलाई गुडविल एम्बेसडर तथा गायिका रचना रिमाललाई फेस अफ बिराटनगर किंग्स भनेर आवद्ध गरेको थियो ।  र रचनासँग विराटनगरको सहकार्य औपचारिक सम्झौतामामात्र सीमित थिएन । कीर्तिपुरमा विराटनगरका सबैजसो खेल दौरान उनीहरूलाई प्यारापिटमा पुगेर टिमको हौसला बढाइरहेको देख्न पाइन्थ्यो ।

एनपिएलको पहिलो संस्करणमा विराटनगर किंग्सको कप्तान बनेका नायक दयाहाङ राई । 

काठमान्डु गोर्खाजले यसपालि आफ्नो नाम, लोगो र टिम एन्थम सबै परिवर्तन गर्यो । चर्चित ब्यान्ड इलिमेन्ट्सले यो सिजनको गोर्खाजको एन्थम तयार गरेको छ । जसलाई एक कार्यक्रमबीच भर्खरै सार्वजनिक गरेको छ । गतवर्ष पूर्व मिस नेपाल शृंखला खतिवडा, टेलिभिजन पर्सनालिटी सुरजसिंह ठकुरीलगायतका सेलेब्रिटीहरूले टिमलाई समर्थन गरेका थिए । यसपालि पनि शृंखला, सुरजलगायतका सेलिब्रेटिहरूको साथ निरन्तर राख्दै गोर्खाजले इलिमेन्ट्सको एन्थममा उपत्यकालाई नचाउने अपेक्षा छ । विभिन्न खेलका सुपर स्टार खेलाडीलाई गुडविल एम्बासडर बनाएको छ । त्यसमा ओलम्पियन धाविका सन्तोषी श्रेष्ठ, करातेका दोहोरो सागका पदकधारी मन्डेकाजी श्रेष्ठ, फुटबलका विकेश कुथु, भलिबलकी पुनम चन्द र तेक्वान्दोकी सीता तामाङको उपस्थितिले गोर्खाजलाई मैदानमा रौनकता दिनेछ ।

चितवन राइनोजको एन्थम स्वप्निल शर्मा र रोहित शाक्यले गाएका छन् । गत वर्ष चितवनले टिमको ब्रान्डिङका लागि भरतपुरमा सांगीतिक कार्यक्रमसमेत गरेको थियो । जसमा पूर्ण राई तथा साथीभाइ, जोन तथा लोकल्सलगायतका ब्यान्ड्सहरू सहभागी थिए । यो वर्ष पनि नायिका नीति शाहले फेस अफ राइनोजको भूमिकामा रहेर टोलीको सुन्दरतामा थप निखार ल्याउने छिन् ।

गत वर्ष पहिलो संस्करणको उद्घाटनमा त्रिशाला गुरुङको आवाजमा ‘रातो र चन्द्रसूर्य’ घन्किँदा पूरा कीर्तिपुर झुमेको थियो । यसपालि पनि उद्घाटनदेखि नै पूरा एनपिएल उत्तिकै ऊर्जाशील र उत्साहजनक रहने विश्वास गर्न सकिन्छ ।

यसको संकेत अक्सनदेखि नै पाउन थालिइसकेको छ । अक्सनमै केही सेलिब्रिटी अनुहार चम्किएका थिए भने विभिन्न टिमका जर्सी अनावरण, एन्थम रिलिज तथा कन्सर्टहरूमा त्यसको निरन्तरता भइरहेकै छ ।नेपाली खेलकुदकै सबैभन्दा ठूलो प्रतियोगिता भएकाले एनपिएल नेपाली मनोरञ्जन क्षेत्रको पनि चासोको विषय हो । प्रत्यक्ष रूपमा एनपिएल वा कुनै टिमसँग नजोडिएका कलाकार पनि यो माहोलमा संलग्न हुनेछन् । अप्रत्यक्ष रूपमै भए पनि, घरमै टेलिभिजनमा हेरेर भए पनि, समाचार र सामाजिक सञ्जालबाट सुसूचित भएर भए पनि कलाकारहरू एनपिएलसँग जोडिनेछन् । कतिपय अवस्थामा मैदानमै पुगेर क्रिकेटको भोक मेटाउने छन् । आफूलाई मन पर्ने टिमको समर्थन जनाउने छन् ।

जनकपुर बोल्ट्सका गुडविल एम्बासडर नायक निखिल उप्रेती ।

गत सिजन चलचित्रकर्मी र संगीतकर्मीजस्ता मूलधारका सेलिब्रेटीसँगै टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालका प्लेटफर्महरूमा चर्चा कमाएकाहरूको बाक्लो उपस्थिति थियो । आफूलाई मनपर्ने टिमको फ्यान जोनमा टिम जर्सी लगाएर उपस्थिति जनाउँदै भिडियोहरू बनाउँदै आफूलाई समेत चर्चामा ल्याउन उनीहरूले क्रिकेटको प्रयोग गरेका थिए ।

विश्व क्रिकेटकै ठूलो फ्रेन्चाइज प्रतियोगिता भारतको इन्डियन प्रिमियर लिग (आइपिएल)मा भारतीय कलाकारको ठूलो प्रभाव छ । प्रत्यक्ष रूपमा थुप्रै कलाकार टिम मालिककै रूपमा आइपिएलसँग जोडिएका छन् । तर नेपालमा चाहिँ कलाकारहरू टिम नै किन्ने भूमिकामा पुगिनसके पनि यसको सफलताको हिस्साका रूपमा भने स्थापित भएका छन् ।

एनपिएल २ को भव्यतामा कला क्षेत्रसँगको यो निकटताले पक्कै पनि योगदान गर्नेछ । सँगै कला क्षेत्रले पनि क्रिकेटको लोकप्रियताबाट धेरैखाले लाभ पक्कै पाउनेछ । जसरी कला क्षेत्रको साथबाट क्रिकेटको चर्चा चुलिनेछ, उसैगरी क्रिकेटसँगको सहकार्यबाट नेपाली सिनेमा, संगीत र फेशन क्षेत्रले फाइदा उठाउने छ । खेलकुद र मनोरञ्जन क्षेत्र एकअर्काको साथमा सँगै माथि उठ्नेछ । आशा गर्न सकिन्छ, ‘कुनै दिन आइपिएलमा जस्तै एनपिएलमा पनि कला क्षेत्रको प्रत्यक्ष सक्रियता हुनेछ । अनि एनपिएल पनि विश्वकै ठूलोमध्ये एक फ्रेन्चाइज लिगमा स्थापित हुनेछ ।’